कैलालीमा किसान ठगी प्रकरणः सुरो नेपालकी अध्यक्षले प्रशासनलाई टेरिनन्
धनगढीः सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई समेत टेरेकी छैनन्।
कैलाली प्रशासन कार्यालयले सुरो नेपालकी अध्यक्ष सुशीलालाई बोलाएको थियो। तर, उनी कार्यालय गएकी छैनन्। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले ओझालाई मौखिक रुपमा बोलाएको बताए। प्रशासकीय अधिकृत जोशीले भने, ‘उहाँलाई हामीले बोलाएका हौ। वास्तविक्ता बुझ्न खोजेका हौ। तर, आउनुभएको छैन। प्रहरीलेसमेत घटनामा अनुसन्धान गर्दैछ। हामीले सुरुमा तीन जना कैलाली प्रहरीमा पठाएका थियौ।’
जिल्ला प्रहरी कार्यालय, कैलालीमा सुरो नेपाल, सहकारी तथा बाल सशक्तिकरण नेपालबाट ठगीमा परेका पीडितहरुले निवेदन नदिएपछि यसअघि नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले छोडिदिएको छ। असार २५ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरीलाई कैलाली प्रहरीले थुनामा राखेको थियो।
किसानलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले थुनामा राखेको हो। तर, पीडितहरुले प्रहरीमा निवेदन नदिएको भन्दै प्रहरीले उनीहरुलाई थुनामुक्त गरेको छ। कालीमाई सहकारीले ठगीमा परेका सबै किसानको रकम फिर्ता गरेको छ। अखुवा कृषि सहकारीलेसमेत किसानको रकम फिर्ता गर्दैछ। तर, बाल सशक्तिकरणका अध्यक्ष योगी भने सम्पर्कविहिन छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले पीडितका तर्फबाट निवेदन नआएपछि थप अनुसन्धानको प्रक्रिया रोकिएको बताए। उनले भने, ‘जिल्ला प्रशासनबाट हामीले तीन जना ल्याएका थियौ। पीडितहरुलाई निवेदन मागेका हौ। तर, कसैको निवेदन आएन। निवेदन नआएकाले २४ घण्टामा सबैलाई छोडेका हौ।’
कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तीकरण सहकारी संस्थाले किसानबाट रकम उठाएका थिए। कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २५० देखि एक लाख २५ हजारसम्म रकम असुल गरिएको थियो। बाल सशक्तीकरण नेपालले मात्रै एक सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा सङ्कलन गरेको छ। रसिद तथा बैँक भौचर केही पनि प्रमाण नदिएर सहकारीहरूले रकम असुलेको पीडित किसानहरूले बताएका छन्।