कैलालीको सुखडमा विशेष विद्यालय निर्माणको डिजाइन गायब
धनगढी : राष्ट्रिय माध्यामिक विद्यालय, सुखडको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा जग्गाको अतिक्रमण खाली भयो। विद्यालयले पाँच वर्षदेखि अलपत्र परेको ९३ करोडको आयोजना कार्यान्वयनका लागि घोडाघोडी नगरपालिकालाई पत्राचार गरेको थियो।
नगरपालिकाले विशेष विद्यालयका भौतिक संरचनाहरू निर्माण गर्न अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू खाली गरिएको हो। २०७५ सालमा सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागबाट परेको आयोजना अलपत्र परेपछि विद्यालयसँगको सहकार्यमा भौतिक संरचनाहरू हटाइएका थिए। तर, भौतिक संरचनाहरू खाली भएको लामो समय हुँदा पनि विशेष विद्यालयका संरचना निर्माणको ठेक्का सम्झौताको प्रक्रियासमेत सुरु भएको छैन।
राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा सुदूरपश्चिमकै विशेष विद्यालय निर्माणको विस्तृत योजना तथा डिजाइन हराएपछि समस्या भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले पुरानो डिजाइनको सक्कल हराएको बताए। उनले भने, ‘भवनहरूको डिजाइनको हाड कपी भेटियो। सफ्ट कपी भेटिएन। ठाउँ पनि सारेका छौ। पहिलो तल थियो। अहिले माथि छ। नगरपालिकाले सफ्ट कपी चाहियो भन्छ। सफ्ट कपी खोज्दा–खोज्दा हैरान भए। डिजाइन निर्माण गर्ने कन्सल्टेन्सीसँग पनि छैन। भेटेर दिन भने, तर, उहाँहरूसँग पनि छैन।’
राष्ट्रिय माध्यमिक विद्यालय, सुखडमा पाँच वर्षदेखि ९३ करोडको आयोजना अलपत्र परेका बेला नगरपालिकाले पुरानो डिजाइन नभेटिएको बाहनामा ठेक्का गर्न आनाकानी गर्दै आएको छ। विद्यालयले भवनहरू निर्माणका लागि नगरपालिकालाई ठेक्का गर्न पत्राचार गरेको थियो। विद्यालयले पुरानो डिजाइनको कपिसमेत दिएको छ। तर, नगरपालिकाले डिजाइनको सकल मागेपछि काम रोकिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालले भने, ‘चार करोड खातामा छ। तर, मास्न मिलदैन। नयाँ बनाउन भनेको छु। विद्यालयको आन्तरिक बजेटबाट रकम दिन्छु भनेको छु। नगरपालिकाका प्राविधिक काम गर्दैछन्।’ घोडाघोडी नगरपालिकाले विशेष विद्यालयको नयाँ डिजाइनको काम पूरा नगरेको हो।
२०७५ सालमा दुईवटा छात्रावास भवनहरू, एकेडेमी भवन, एक चमेनागृह, एक फिजियोथेरापी भवन, बगैँचा, खेलमैदान, पर्खालसमेत निर्माणका लागि बजेट आएको हो। उक्त संरचनाहरू निर्माणका लागि विद्युतीय बोलपत्र गर्न विद्यालयले नगरपालिकालाई पत्राचार गरेको छ। सुदूरपश्चिमका फरक क्षमता भएका २ सय विद्यार्थीहरूलाई आवाससहितको अध्यापनका लागि भवनहरू निर्माण गरिने भएको हो। एक १३ जना कर्मचारी, चार जना चिकित्सक, ४० जना खाना पकाउने व्यक्ति र २० जना सरसफाइ कर्मचारी आयोजना मार्फत भर्ना गरिने छ। उनीहरूले २ सय फरक क्षमता भएका विद्यार्थीलाई आवाससहितको शिक्षा दिनेछन्। तर, महत्वपूर्ण योजना कार्यान्वयनका लागि घोडाघोडी नगरपालिकाले बेवास्ता गरेको हो। नगर प्रमुख खडकबहादुर रावतले पुरानो डिजाइन इस्टिमेट परिमार्जनको काम थालिएको बताए। उनले भने, ‘धेरै पुरानो इस्टिमेट छ। अहिलेको इस्टिमेट र पुरानो इस्टिमेट फरक हुन्छ। अहिलेको बस्तुको मूल्य अनुसार बनाउदैछन। अहिलेको प्रगति हेर्न पाएको छैन।’
राष्ट्रिय माध्यमिक विद्यालय, सुखडको स्रस्ता नम्बर ९७ को आठ कट्टा जग्गामा सटर निर्माणको प्रक्रिया भने सुरु भएको छ। विद्यालयले १६ वटा सडरहरू उपभोक्ता समितिमार्फत निर्माण थालेको हो।