सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १६५ मेगावाट विद्युत उत्पादन, कति हुन्छ कैलालीमा दैनिक खपत?

२०८१ साउन २०, ११:२४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा हालसम्म १६५ मेगावाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

चमेलिया, माथिल्लो चमेलिया, नौगाड–१ र २ तथा कालङ्गा–१ र २ जलविद्युत आयोजनाबाट उत्पादित १६५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा छ। सुदूरपश्चिममा गर्मीयाममा दैनिक ९५ मेगावाट विद्युत खपत हुने गरेको छ भने हिउँदमा दुई तिहाईले खपत घट्ने गरेको छ। वर्षायाममा बढी भएको बिजुली भारत समेत निर्यात हुने गरेको छ।

बर्सादमा सबै जलविद्युत आयोजना पूर्ण क्षमतामा चलेकाले हाल प्रदेशभर लोडसेडिङको समस्या नरहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जङ्गवहादुर चन्दले बताए। ‘सुदूरपश्चिममा हाल १६५ मेगावाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। तर हिउँदमा भने कुल जडित क्षमताको ४०/५० प्रतिशत मात्रै उत्पादन हुने गरेको छ’, चन्दले भने।

टनकपुरबाट सुदूरपश्चिममा दैनिक ५० मेगावाट बिजुली प्राप्त हुन्छ। टनकपुरको समेत जोड्दा प्रदेशमा २१५ मेगावाट बिजुली आपूर्ति हुन्छ। तर सुदूरपश्चिममा गर्मीयामको समयमा दैनिक खपत भने ९५ मेगावाट मात्रै छ। हिउँदमा दुई तिहाइ माग र ५० प्रतिशतले उत्पादन घट्ने चन्दले बताए। ‘सुदूरपश्चिममा अहिलेको दैनिक माग ९५ मेगावाट हो भने हिउँदमा दुई तिहाई माग घट्छ।

यस्तै, नदीमा पानी घट्दा उत्पादन पनि ५० प्रतिशतले घट्न पुग्छ’, प्रादेशिक कार्यालय प्रमुख चन्दले भने। कैलालीमा सबैभन्दा बढी दैनिक ५० मेगावाट र कञ्चनपुरमा दैनिक ४० मेगावाट विद्युत खपत हुने गरेको छ। पहाडी जिल्लाहरूमा दैनिक ५ मेगावाट बिजुली खपत हुने गरेको छ। बर्सादमा भने यहाँ उत्पादित बिजुली भारत निर्यात हुने गरेको प्राधिकरणले बताए।

कैलाली र कञ्चनपुरका केही स्थानमा भने ट्रान्सर्फमर र लाइनमा आउने प्राविधिक समस्याका कारण बत्ती जाने र लो–भोल्टेजको समस्या देखा पर्ने गरेको प्राधिकरणले जनाएको छ। अनियमित विद्युत कटौतिका कारण उपभोक्ताले भने सास्ती खेप्नु परेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस