महाकालीले लिन्छ वर्षेनि ज्यान, कति त बगेरै हराए
धनगढीः कञ्चनपुरको महाकाली नदीमा हाम फालेर बेपत्ता भएका एक युवकको अवस्था एक वर्षदेखि अज्ञात छ।
गत वर्षको साउन पहिलो साता महाकाली नदीमा हाम फालेका बैतडीको सुर्नया गाउँपालिका–४ दिकथलाका २५ वर्षीय जनकराज भट्टको कुनै अत्तोपत्तो लागेको छैन्। उनको खोजीकार्यमा प्रहरी परिचालन भए पनि अहिलेसम्म कुनै पत्तो लागेको छैन्। हिजो मात्र कञ्चनपुरको दोधारा–चाँदनीका एक युवक पनि महाकालीमै बेपत्ता भएका छन्।
नदीबाट दाउरा निकाल्ने क्रममा महाकाली नदीमा डुबेर दोधारा–चाँदनी नगरपालिका–४ चाँदनीका रतने भट्ट बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमबहादुर चौधरीले नदीबाट दाउरा निकाल्ने क्रममा ५० वर्षीय भट्ट बेपत्ता भएको बताए। महाकाली नदीमा आएको साउने भेलमा परेर दाउरा निकाल्ने क्रममा बेपत्ता भएका भट्टको खोजीकार्य जारी छ।
यसअघि मात्र महाकाली नदीमा दुई बेपत्ता भएकाको शव फेला परेको थियो। जेठ ५ गते दोधारा–चाँदनी नगरपालिका–४ चाँदनीका विष्णु सुनार र असार १६ गते सुर्खेत बाराहाताल गाउँपालिका–७ का ४५ वर्षीय धनबहादुर गुरुङ बेपत्ता भई मृत फेला परेका थिए। उता दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।
शनिबार साँझ साढे ६ बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए। केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन्।
कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ। एक साता अघि मात्र महाकाली नदीमा डुबेर बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको मृत्यु भएको थियो। शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको मृत अवस्थामा उद्धार गरेको थियो। महाकाली नदीले वर्षेनि ज्यान लिने गरेको छ। कतिपयको लामो समयपछि शव फेला पर्ने गरेको छ भने कतिपय बगेरै हराउने गरेका छन्।