सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा जोडिहरु समात्दै प्रहरी

२०८१ साउन १२, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा अनैतिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले जोडिहरुलाई रंगे हात नै समात्न थालेको हो। हिजो मात्र गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेका छन्। ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेका हुन्। अनैतिक कार्यमा संलग्न जोडिहरु यसैगरी पक्राउ पर्न थालेका छन्।

अत्तरियामा अनैतिक कार्य बढ्न थालेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले विशेष निगरानी बढाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका अनुसार यस्तो कार्य जताजतै भइरहेको छ। यौन कार्यबाटै आम्दानी गर्ने र त्यसैबाट आफ्नो दैनिकी चलाउनेहरु पनि फेला परेको उनले बताए। ‘यहाँ यस्तोसम्म देखियो की आमा, छोरी र त्यसपछि छोरीबाट जन्मिएकी नातिनी पनि यसै कार्यमा लागेको पाइएको छ।’

‘छोराछोरी हुर्काउन आमाले यो पेशा अंगालिन, अनि आमा बुढी भएपछि छोरीले आमा पाल्न यही पेशा रोजिन भने हजुर आमा र आमाको सिको सिकेर नातिनीले पनि यस्तो कर्म गरेकोसम्म पाइएको छ।’ छोरीलाई बा को हो? भन्नेसम्म थाहा छैन, उनले भने। प्रहरीको एक्लो प्रयासले यो समस्या न्युनिकरण हुनसक्छ, तर समाधान हुन सक्ने अवस्था छैन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले आर्थिक वर्ष २०८०÷८१ मा अत्तरियाबाट अनैतिक कार्यमा संलग्न ३० महिला र २८ पुरुषलाई नियन्त्रणमा लिएको अभिलेख छ। सो वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र १६ महिला २० पुरुष र एक जना तेस्रोलिङ्गी गरेर ३७ जना नियन्त्रणमा लिएको प्रहरी प्रमुख थापाले बताए। अशिक्षा, बेरोजगारी, श्रीमानबाट धोका पाएका र कतिपय देखासिकीमा परेर महिलाहरु यस्तो कार्यमा लागेको पाइएको छ।

एक पटक प्रहरीको फन्दामा परेर छुटेकाहरु पनि फेरीफेरी पक्राउ पर्ने गरेको समेत पाइएको छ। कतिपय होटल सञ्चालकले महिलालाई भाडा माज्ने काममा राखेको देखाउने तर भित्रभित्रै ग्राहकसँग अनैतिक कार्यमा लगाउने गरेको समेत पाइएपछि धेरैजसो होटल सञ्चालक समेत पक्राउ परिसकेका छन्। गतिलो खाना र नास्ता नभएको होटलमा रक्सी मात्र राखेर पनि यस्तो कार्य हुने गरेको देखिएको छ।

कमेन्ट लोड गर्नुस