सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकको बिच भागमा परेका रुखहरु हटाइदै

२०८१ असार ३०, ०७:०६ कमल सावद

धनगढीः कैलालीको धनगढीमा सडकको बिच भागमा परेका रुखहरु हटाउन सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका अन्तरगत सडकको बिच भागमा परेका रुखहरु हटाउन सुरु गरिएको हो।

सुकेका रुखहरु हटाउन डिभिजन वन कार्यालय धनगढी, जिल्ला प्रशासन र जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण समेत गरेको छ। डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कँडेलले सडकको बिचका रुखहरु हटाउन थालिएको बताए। उनले भने, ‘एकदमै जोखिमपूर्ण रुखहरु, सडकको बिचमा परेका रुखहरु हटाउने व्यवस्था अनुसार काम सुरु भएको छ।’

धनगढीमा सङ्घीय सहरी विकास आयोजना कार्यालयले कालोपत्र गरेका २ सय ८४ वटा सडकको बिच भागमा रुखहरु परेका छन्। सहरी विकासले रुख कटानीको आदेशका लागि सङ्घीय मन्त्रिपरिषद्मा फाइल पठाएको भएपनि स्वीकृत भएको छैन। तर, रुखका कारण दुर्घटना हुन थालेपछि हटाउने प्रक्रिया थालिएको छ। डिभिजन वन कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहका जनप्रतिनिधसहितको समूहले बिच सडकमा पर्ने रुखहरुको स्थलगत निरीक्षण गरेको छ।

डिभिजन वन कार्यालय, धनगढीका प्रमुख कँडेलले धनगढी–४ का सडकमा परेका रुखहरु हटाउन थालिएको बताए। उनले भने, ‘जोखिमपूर्ण रुखहरु हटाउने कार्यविधि अनुसार काम भएको हो।’  सङ्घीय सहरी विकासले रुख कटानीको आदेश नपाएपछि सडक निर्माण गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ।

सहरी विकासले रुख भएका क्षेत्रमा सडक कालोपत्रको कामसमेत गरेको छैन। बर्सातको समयमा कालोपत्र नगरिएका क्षेत्रमा खाल्डो पर्ने र दुर्घटना बढी हुने गरेको पाइएको छ। सडकको बिच भागमा परेका रुखहरु हटाएर दुर्घटनाको जोखिम कम गर्न प्रक्रिया थालिएको छ। उप–महानगरपालिकाभित्र मात्र १५ दशमलव ५२ किलोमिटर लम्बाई रहेको धनगढी चक्रपथमा सबैभन्दा धेरै रुख छन्।

निर्माण पूरा भएको चक्रपथसहित तुलसीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपलचौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख छन्। यसैगरी हाईवे–शिवपुरी सडक, लक्ष्मीनगर सडक, मट्यारी–नजरिया–भागेश्वर सडकमा पनि रुखहरु छन्। तर, सहरी विकासको प्रतिवेदन अनुसार भने रुख कटानी नगरिने भएको छ। सडकको बिच भागमा रहेका रुखहरु मात्र हटाइने भएको हो।

डिभिजन वन कार्यालय, धनगढीका प्रमुख कँडेलले जिल्ला प्रशासन, नापी, मालपोत र जनप्रतिनिधिसहितको टोलीले काम थालेको बताए। धनगढी–४ का १८ वटा सडकमा परेका रुखहरु हटाउन थालिएको छ। सडकको बिच भागमा सहरी विकास कार्यक्रम मार्फत रुख छोडेर कालोपत्र गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरका मार्फत निर्माण गरिने सडकहरुमासमेत रुख हूँदा दुर्घटनाको जोखिम बढेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस