सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको उद्योग कार्यनीतिः अब ‘एक वडा एक आर्थिक केन्द्र’

२०८१ असार २५, १०:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले उद्योग कार्यनीति सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि उद्योग कार्यनीति सार्वजनिक गरेको हो। गरिबी न्युनिकरण गर्न लघु उद्यम विकास कार्यक्रमबाट सिप सिप हासिल गरी उद्यमी बनेका उद्यमीहरुका उत्पादन बजारीकरण कार्यलाई प्रवद्र्धन गरिने भएको छ।

अति विपन्न, रोजगारी गुमेका र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई उद्यमशीलता तथा सिप विकास तालिममार्फत उद्यमी बनाउने कार्यलाई निरन्तरता दिइने उपमहानगरले जनाएको छ। यसका साथै स्थानीय कच्चा पदार्थ, श्रम तथा सिपमा आधारित उद्योग र निर्यातजन्य उद्योगलाई प्रवद्र्धन गर्नुका साथै यस्ता उद्योगका लागि विभिन्न किसमका करछुटको समेत व्यवस्था गरिने उपमहानगरको कार्यनीति छ।

एकल महिला, अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा अल्पसंख्यक र विपन्न महिलाहरुले सञ्चालन गरेका व्यवसायमा विशेष सहुलियतलाई निरन्तरता दिइने विषयमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्थानीय जाती र जनजातीको भेषभुष संरक्षणका लागि तालिम समेत सञ्चालन गरिने भएको छ। नगर उपप्रमुख उद्यम विकास कोषमार्फत सञ्चालित सिपमुलक कार्यक्रममा आवद्ध भएर सफलता हासिल गरिरहेका महिला उद्यमीलाई सम्मान समेत गरिने भएको छ।

उपमहानगरभित्रका सबै वडामा आर्थिक गतिविधि बढाएर स्थानीय उत्पादनको स्थानीय स्तरमै खपत गराउन ‘एक वडा एक आर्थिक केन्द्र’ विकास गरिनेछ। यसका साथै दलित तथा आदिवासी जनजातिहरुको परम्परागत पेसालाई सुदृढ गरिने विषय पनि उपमहानगरपालिकाले आफ्नो उद्योग कार्यनीतिमा समावेश गरेको छ।

कमेन्ट लोड गर्नुस