सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका ३ ठाउँमा सडक अबरुद्ध, कञ्चनपुरको बेदकोटमा बाढीले सडक बगायो

२०८१ असार २४, ०९:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले ३ ठाउँमा सडक अबरुद्ध भएको छ।

पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार सडकमाथिबाट पहिरो आएपछि जिल्लाको मुख्य सडकमार्ग अवरुद्ध भएका छन्। पहिरो आएपछि बैतडीको पाटन नगरपालिकाको साँणीघाँटीमा जयपृथ्वी राजमार्ग आईतवारदेखि बन्द भएको छ।

खोडपे बझाङ जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै चार दिनदेखि लगातारको वर्षाले पहिरो खसेपछि दार्चुला–गोकुेलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अहिले अवरुद्ध सडक एक्स्काभेटर लगाएर खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्र रावतले बताए।

मुख्य सडकमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि बाहिर जिल्लाबाट दार्चुला सदरमुकाम खलंगा भित्रिने र जिल्लाबाहिर जाने गाडी उक्त क्षेत्रमा जाममा परेका छन्। यता कञ्चनपुरको बेदकोटमा बाढीले सडक बगाउँदा यातायात ठप्प भएको छ। बेदकोट नगरपालिका-७ सुँडामा बाढीले २५ मिटर सडक बगाउँदा यातायात ठप्प भएको सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस