६ लेन सडक धनगढीको दुबै ‘साइट’मा नाली बनाउन सम्झौताका लागि पत्राचार
धनगढीः धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा नाली निर्माण गर्न सम्झौताका लागि पत्रचार गरिएको छ।
संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले नाली निर्माण गर्न सम्झौताका लागि निर्माण कम्पनीलाई पत्र पठाएको हो। संघीय आयोजना कार्यान्वयन इकाईले सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी/शुभलक्ष्मी/आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज/चन्द्र विकाश/मस्टा जेभी, धनगढीलाई सम्झौताका लागि बोलाएको छ।
इकाईले गत शुक्रवार निर्माण कम्पनीहरुलाई १५ दिनभित्र सम्झौता गरिसक्न पत्रचार गरेको हो। धनगढी क्षेत्रको ६ लेन सडकमा २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण गरिने भएको छ। तीन किलोमिटर नाली निर्माण गर्न सम्झौताका लागि निर्माण कम्पनीलाई पत्रचार गरिएको छ। धनगढी ट्राफिक चौराहदेखि मोहना नदीसम्मको ६ लेन सडकको दुबै साइटमा नाली निर्माण गरिनेछ।
सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीका इन्जिनियर सौरभ कलौनीले धनगढीको डुबान समस्या समाधान गर्न नाली निर्माण गरिने बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र १३ को डुबान समस्या समाधानका लागि मोहनापुल–अत्तरिया ६ लेन सडकको दुबै क्षेत्रमा नाली निर्माण गरिने भएको हो।
नालीमा सडक तथा बस्तीबाट आएको बर्सातको पानी बग्नेछ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा १२ करोड र पूर्व क्षेत्रमा ११ करोड संघीय सरकारले नाली निर्माणका लागि बजेट विनियोजन गरेको थियो। पश्चिम क्षेत्रमा सात करोड बढी र पूर्वी क्षेत्रमा ६ करोड नाली निर्माण गर्ने भन्दै निर्माण कम्पनीहरुले कबोल अंक राखेका छन्।
अन्य निर्माण कम्पनीका लागि दाबी विरोधको सात दिने सूचना २०८१ असार ७ गते सार्वजनिक गरेको कार्यालयले शुक्रवार कम्पनीहरुलाई सम्झौताका लागि पत्रचार गरेको हो। मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनमा ढक्कनसहितको नाली निर्माण हुनेछ। एक हजार ६ सय मिटर लामो एक र एक हजार चार सय मिटरको अर्काे गरेर सडकको दुबै क्षेत्रमा तीन किलोमिटर नाली निर्माण गरिने भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र वडा नम्बर १३ को डुबान समस्या समाधान गर्न तीन करोड ८० लाख बजेट विनियोजन गरिएको छ। वडा नम्बर २, ३ र १३ को डुबान समस्या समाधानका लागि आगामी आर्थिक वर्षका लागि एक करोड ५२ लाख बजेट विनियोजन गरिएको छ। उपमहानगरपालिकाले तयार पारेको डिपीआर अनुसार सङ्घीय आयोजना कार्यान्वयन इकाईले नाली निर्माणका लागि ठेक्का सम्झौता गर्न लागेको हो।