डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू
धनगढीः डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन्।
डोटीको केआईसिंह गाउँपालिका-४ दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्। शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन्। उनीहरू क्रमशः १६र १५ वर्षका भए। उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन्। बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन्।
विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन्। घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैन, यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए। उनले आफ्ना बुवाबाट यो काम सिकेको हुन्।
यसरी निगाला तथा बाँसको चोयाबाट बन्ने सामाग्रीबाट हप्तामा आठ सयदेखि एक हजारसम्म आम्दानी हुने गरेको शेरूले बताए।उनले डोकाडाला बिक्री गरेर हुने आम्दानीबाट आफूलाई आवश्यक पर्ने किताब,कापी, कलम,झोला तथा विद्यालयको पोशाक खरिद गर्ने गरेको बताए।