सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलडाँडी र बेलौरीमा सिमसार भएको जमिनमा पुनः खेती लगाउन ड्रेन निर्माण

२०८१ जेठ ९, ०३:११ खबर संवाददाता

धनगढीः कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी र बेलौरीको दलदलमा परिणत भएको जमिन पुनः खेती लगाउन मिल्ने गरी ड्रेन निर्माण गरिएको छ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १, २ र बेलौरी नगरपालिका–९ को सिमसारमा परिणत भएको जमिनमा पुनः उत्पादन लागि ड्रेन निर्माण गरिएको हो। साढे दुई दशकअघि निर्माण भएको महाकाली सिँचाई नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो।

खेत दलदलमा परिणत भएपछि किसानले साढे दुई दशकदेखि अन्नबाली लगाउन पाएका थिएनन्। बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले दलदल जमिनमा पुनः खेती गर्न महाकाली सिँचाई व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एवम् द्वितिय समितिले सिमसार जमिनमा स्काभेटर लगाएर ड्रेन निर्माण गरेको छ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका प्रमुख रामकृष्ण घोडासैनीले बेलौरी र बेलडाँडीको दलदलमा परिणत भएको जमिन खेतियोग्य बनाउन कार्यालयकै स्काभेटर प्रयोग गरेर नाला निर्माण गरिएको बताए। कार्यालयले मुल नहर सुरक्षित गर्न प्रयोग गर्दै आएको स्रोतसाधन यसपटक बेलडाँडी र बेलौरीको दलदलमा परिणत भएको जमिनमा लगाएर किसानलाई केही राहत दिन खोजेको उनले बताए।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका इन्जिनियर सालिक भुसालले जमेको पानी निकास गर्न झण्डै तीन हजार मिटर ड्रेन पाँच फिट गहिराइ खनिएको बताए। अब खेतमा जमेको पानी नालामा बग्नेछ। बेलडाँडी बजारदेखि झिलमिला बस्ती, झर्नाखोलादेखि रतनपुरसम्मै ड्रेन निर्माण गरिएको छ। अध्यक्ष थापाले किसानको समस्या समाधान गर्न ड्रेन निर्माण कार्य सुरु गरिएको हो।

कमेन्ट लोड गर्नुस