बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
बाजुराः बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन्।
गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो। जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ। स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको १० शय्याको अस्पताल ११ करोड ७८ लाख ४५ हजारको लागतमा निर्माण भएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालन भए पनि केही जनशक्ति र उपकरणको अभाव छ। उहाँका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ।
गौमुल गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेका हुन्।
अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको गाउँपालिका अध्यक्ष रोकायाले बताए। अहिले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले जानकारी दिए।
अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए। उनले भने, “अब आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ।”
गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताइन्। यसअघि सामान्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरेका छन्। आधारभूत अस्पताल सञ्चालनमा आएपछि गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
जिल्लाका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य पालिकाले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन्। जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए। त्यस्तै, बुढीगङ्गामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ भने अन्य पालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छन्।