सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफु कच्ची घरमा बसेर अरुका महल ठड्याउँछन् कैलालीका रूवि चौधरी

२०८१ वैशाख १९, ०३:३७ खबर संवाददाता

महेन्द्रनगरः कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ।

आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गरेका छन्। घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले दशकपछि मिस्त्री काम गरेर घर बनाउन गए। तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सकेका छैनन्।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिएका छन्। एक दशकदेखि घर बनाउने काममा लागेका उनले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाए।

‘ज्याला मजदुरीका क्रममा अरूका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन’, उनले भने, ‘मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखौंला सोचेको अझै पूरा हुने छाँट छैन।’ रुविसँगै उनका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय छन्। दुईजनाको कमाइले घर खर्च मुस्किलले टर्ने गरेको उनले बताए।

‘मिस्त्रीको दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ’, उनले भने, ‘लेबरीमा खटिनेको त झन् पाँच सय ७५ मात्रै छ।’ बुबा÷आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताए। ‘ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ’, उनले भने, ‘तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौं भइसक्यो।’

कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उनले कामको भने अभाव नरहेको बताए। ‘बास बस्ने डेरा पनि लिएको छैनौँ’, उनले भने, ‘जहाँ घर बनाउन सुरु ग¥यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ।’ त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा भेटिए।

‘मजदुर दिवस भनेको के हो थाहा नै छैन’, उनले भने, ‘दिवस मनाएर बसे बेलुकी के खाने?’ उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए। ‘यत्रो महँगीको जमानामा पाँच सय दिनको ज्यालाले के हुन्छ र?’, एसइईसम्मको अध्ययन गरेका दीपकले भने, ‘ ‘पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन।’

उनले समयक्रमअनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए। पाँच सय ज्यालाले खर्च त चल्दैन् तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो’, उनले भने, ‘मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरुको अवस्थामा सुधार आउन सकेन।’

त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगतदेखि मिस्त्री काम गर्दै आएका कैलारीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को काम नभनी काममा सक्रिय छन्। ‘घरमा भएको १० कट्ठा जमिनले खानसम्म पुग्छ’, उनले भने, ‘त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु।’ धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उनले पनि दर्जनौँ घर निर्माण गरिसकेका छन्। मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीनमहिने तालिम लिएर मिस्त्री काममा लागेको बताए।

कमेन्ट लोड गर्नुस