सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष रञ्जिताको एक्सन, कुटपिटमा संलग्न दुई अध्यक्षमाथि कारबाही

२०८० चैत्र २०, १२:२६ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ एक्सनमा उत्रिएकी छन्।

हिजो (सोमबार) केन्द्रीय पार्टी बैठकमा नेताहरुमाथि भएको कुटपिटको विषयलाई लिएर उनी एक्सनमा उत्रिएकी हुन्। पार्टी अध्यक्ष रञ्जिताले कुटपिटमा संलग्न दुई प्रदेश अध्यक्षलाई कारबाही गरेर देखाएकी छन्। हिजो नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले कुट्ने मात्र नभइ हत्यासमेत हुन सक्ने धम्की दिएको दाबी गर्दै पत्रकार सम्मेलन नै गरेका थिए।

पार्टीको बैठकमा कुटिएपछि नेता विश्वकर्माले आफूहरूको हत्या गर्नेसम्मको धम्की रेशमबाट आएको बताएका थिए। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा रेशमले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भन्नु भएको बताउँदै चार जनाकै हत्या हुन सक्ने धम्की आएको उनको जिकिर छ।

नेता चौधरीले आफूले आवेशमा बोलेको भन्दै माफी मागेको समेत नेता विश्वकर्माले बताए। कोठा बाहिरबाट ढोकामा चुक्कुल लगाउनुको साथै केन्द्रीय सदस्यबाहेकका मान्छेहरू पनि भएकाले चौधरीकै निर्देशनमा आफूहरूमाथि आक्रमण भएको विश्वकर्माको जिकिर छ। अध्यक्ष रञ्जिता भने आक्रमण भएको करिब ३० मिनेटपछि मात्रै आइपुगेकी थिइन्।

पार्टी अध्यक्ष रञ्जिताले कुटपिटमा संलग्न दुई अध्यक्षलाई कारबाही गरिएको पत्र पठाएकी छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशमलाल संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद झन बल्झिदै गएको छ। पार्टीभित्रको विवाद विचार मतभेददेखि कुटाकुट र हत्याको धम्की हुँदै कारबाहीसम्मै पुगेको छ।

अध्यक्ष रञ्जिताले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन्। पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ।

अध्यक्ष चौधरी र संरक्षक चौधरीबिच नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा रहने भन्नेमा विवाद छ। रञ्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउने अडानमा छिन भने रेशम कांग्रेससँगै रहने अडानमा छन्। सोही विषयमा छलफल भइरहेका बेला बैठकमै नेता कार्यकर्ताहरूबिच कुटाकुटको अवस्था सिर्जना भएको हो। त्यसलगत्तै रञ्जिताले दुई प्रदेश ध्यक्षलाई कारबाही गरेकी छन्। निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टीमा नेताहरू विभाजित छन्। अहिले सुदूरपश्चिममा नेपाली काँग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ।

कमेन्ट लोड गर्नुस