राजनीतिक आडमा टीकापुरमा क्याम्पसकै तीन सय बिघा जमिन कब्जा
धनगढीः कैलालीको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन १७ वर्षदेखि कब्जामा छ।
तत्कालिन समयमा टीकापुर नगर विकास समितिले सो क्याम्पसलाइ तीन सय ८० बिघा जमिन उपलब्ध गराएको थियो। तर क्याम्पसले ८० बिघा मात्र उपयोग गर्दै आएको छ। बाँकी तीन सय बिघा जमिन भने टीकापुरसहित अन्य स्थानीय तहहरु, सुर्खेत, दैलेख, डोटी र अछाम जिल्लाका नागरिकहरुले कब्जा गरेको फेला परेको छ।
क्याम्पसको नाममा दर्ता भएको जग्गा १७ वर्षसम्म खाली गर्न सकिको छैन। अतिक्रमित क्षेत्र खाली गराउने विषय प्रदेश र सङ्घीय सरकारसम्मै पुगेको छ। तर, कब्जा गरिएको क्याम्पसको जग्गा खाली भएको छैन। क्याम्पस प्रमुख धर्मेन्द्र रावलले तीन सय ८० बिघामध्ये तीन सय बिघा अतिक्रमण गरिएको बताए। उनले भने, ‘सुकुम्बासी, मुक्तकमैया र बाढीपीडितको नाममा अतिक्रमण गरिएको हो।’
राजनीतिक पार्टीको आडमा तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण गरिएको छ। २०६३/६४ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण सुरु भएको हो। उक्त जग्गामा दुई हजार तीन सय परिवारको बसोबास छ।
अतिक्रमण हटाउन टीकापुर नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सर्वपक्षीय बैठकहरु समेत बसेका थिए। तर, क्याम्पसको नाममा दर्ता रहेको जग्गाबाट उनीहरुलाई हटाउन सकिएको छैन। रावलले भने, ‘जंगल क्षेत्र पनि छ। जंगलको बिचमा उहाँहरु बस्नु भएको छ। स्थानीय सरकारले व्यवस्थापन गर्ने पनि बताएको थियो। तर, अझै व्यवस्थापन भएको छैन। उहाँहरुको लगत भने लिएको छ।’
जमिन राजनीतिक पहुँचवालाहरूले कब्जा गरेर कमाइ खाने भाँडो बनाएका छन्। तर, क्याम्पस तथा विश्वविद्यालय कानूनी बाटोमा गएको छैन। गृहमन्त्रालयको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, कैलालीमा अतिक्रमित जमिन खाली गर्न निवेदन दर्ता गरिएको छ।
रालवले भने, ‘गृहमन्त्रालयको सूचना अनुसार हामीले जिल्ला प्रशासनमा निवेदन दर्ता गरेका छौ, लालपुर्जाको फोटोकपी पनि बुझाएका छौ।’ नगरपालिकाले क्याम्पसमा बसोबास गर्दै आएकाहरुको तथ्याङ्क समेत तयार पारेको थियो। तर, हटाउन प्रयाससमेत भएको छैन। टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा १७ वर्षदेखि कब्जा गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको नाममा लालपुर्जा भएको जग्गा २०६३ सालमा कब्जा गरिएको पाइएको छ।