कैलालीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठायो।
नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न भनेको हो। स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ।
पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन। कर्णाली नदी तथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो।
स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, विभाग, पर्यटन मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पनि सो क्षेत्रका विपद्मा बोटबाट उदारका लागि आग्रह गरेको बताए। उनले भने, ‘चाडपर्वको समयमा कर्णाली पुल क्षेत्रमा जोखिम हुन्छ। दुर्घटना हुने गरेको छ। उदारका लागि लिखित र मौखिक आग्रह गरेको छु। तर, कुनै पनि निकायबाट अनुमति आएको छैन। लिखित निवेदन फाँटफाँटमा मात्र जाने हुँदैछ।’
कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा चार करोडको लागतमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनको अनुमती छ। मोहन्याल गाउँपालिकाले उक्त क्षेत्रमा बोट सञ्चालन गर्न तथा विपद्मा परेकाको उदार गर्न अनुमति दिएको छ। तर, बर्दिया जिल्लाको सीमा क्षेत्रमा बोट सञ्चालनको अनुमति छैन।
राष्ट्रिय निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको बताए। उनले भने, ‘निकुञ्जको नियमावलीमा मोटर बोट चलाउन पाउदैन। तर, विपद्को उदारमा रोकिएको छैन। मोटर बोट कोर एरियामा चलाउन मिल्दैन। उहाँले हामीलाई सोध्नु भएन। कानुनी विषयमा जोडेर विपद्का घटनाहरुमा जोड्नु भएन।’
कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पन्चपुरी–११ को क्षेत्रमा पर्ने कर्णाली नदीमा बोट सञ्चालनका लागि स्काई बर्ड एड्भेन्चर स्पोर्टले सङ्घीय पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने बोट सञ्चालनका लागि अनुमति छैन। राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने घटनामा समेत बोट प्रयोग गर्न पाइएको छैन। प्रबन्ध निर्देशक गाहाले भने, ‘अछामबाट आउदै गरेको मोटरसाइकल दुर्घटना हुँदा उदार गरेको थिए। चाँड पर्वको समयमा बढी दुर्घटना हुने गरेको छ। उदारमा सहयोग गर्न खोजेको हो। तर, मैले अनुमति पाएको छैन।
निकुञ्जको क्षेत्रमा आउन पाउदैन भन्दै आएको छ। उदारमा जान पाउनुपर्ने हो। पुलबाट मान्छे खसेको बेला पनि जान पाएन।’ सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सिमानामा रहेको कर्णाली नदीको विपद्मा ‘मोटर बोट’ प्रयोगमा रोक लगाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनाले कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा रोक लगाएको हो। राष्ट्रिय निकुञ्जको क्षेत्रमा विपद्का घटना हुँदा पनि ‘मोटर बोट’ सञ्चालन गर्न सकिएको छैन। लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा रहेको राष्ट्रिय निकुञ्जले कैलाली क्षेत्रको भागमा समेत ‘मोटर बोट’ सञ्चालन गर्न दिएको छैन।