धनगढीमा हुने डुबान समस्या हल गर्न दुई मिटर अग्लो नाली बनाइने
धनगढीः धनगढीको डुबान समस्या सामाधान गर्न २९ करोड बजेट विनियोजन भएको छ। धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधान गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो।
तर, डिपीआर अनुसार बजेट सङ्घीय सरकारबाट आएको छैन्। २९ करोड बजेट विनियोजन भएपछि ६ लेनमा पक्की दोहोरो नाली निर्माण गरिने भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीको पश्चिमी क्षेत्रमा ढुबान हुँदै आएको तर्क धनगढी उपमहानगरपालिकाको छ। धनगढीको पश्चिमी क्षेत्रको डुबान समस्या समाधान गर्न सडक क्षेत्रको दुबैतिर नाली निर्माण गरिने नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘पानी खसाल्ने स्थानको अध्ययन भएको छ। यो महिनाभित्र काम सुरु हुन्छ।’
विशालनगर र चटकपुरको डुबान समस्या समाधान गर्न २ मिटर अग्लो नाली निर्माणको काम हुने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले ठेक्का मार्फत बर्सातको पानी मोहनासम्म लैजान पाँच किलोमिटर लामो ढक्कनसहितको नाली निर्माण गर्ने बताएको छ। उपमहानगरपालिकाले डुबान समस्या समाधान गर्न बर्सातको पानी मोहना नदीसम्म लैजाने गरी काम गर्ने बताएको छ। नगर प्रमुख हमालले भने, ‘भन्सारबाट दोहोरो नाली हुन्छ। २ मिटर गहिरो र २ मिटर चौडाइको नाली हुन्छ। ढलाई गरिएको नाली हुन्छ। यो काम पूरा भएपछि धनगढीको ढुबान समस्या धेरै समाधान हुन्छ।’
मोहना नदीदेखि पाँच किलोमिटरसम्म ढक्कनसहितको पक्की नाली निर्माण हुनेछ। मिलनचोकदेखि मोहना नदी क्षेत्रमा प्लास्टिकका पाइप बिच्छाएको थियो। तर, प्लास्टिकका ठुला पाइपहरुमा पानी नबगेपछि खारिज भएको छ। सो क्षेत्रमा नै धनगढी उपमहानगरपालिकाले फेरि ढक्कनसहितको नाली निर्माण गर्ने भएको छ। चैत २० गतेभित्र नाली निर्माण गर्न ठेक्का सम्झौताका लागि बोलपत्र आह्वानको तयारी गरिएको छ।
नगर प्रमुख हमालले धनगढी उपमहानगरपालिका–३, २, ४ र १३ नम्बरको डुबान समस्या समाधान हुने बताए। उनले सहरी विकास, विद्युत र खानेपानी संस्थानसँग नाली निर्माणको विषयमा छलफल गरेको बताए।