कैलाली र कञ्चनपुरका राना समुदायले मनाउने छन् ३८ दिनसम्म होली
धनगढीः पहाडी समुदायको होली समापन भए पनि राना समुदायमा भने होलीको रौनक अझै ८ दिनसम्म कायम रहनेछ।
कैलाली र कञ्चनपुरका राना समुदायले पृथक तरिकाले होली मनाउने गरेका छन्। राना समुदायमा माघ शुल्क पूर्णिमादेखि सुरू भएको होली एक महिना ८ दिनसम्म मनाइन्छ। फागु पूर्णिमासम्म जिउँदो र त्यसपछिका ८ दिनसम्म राना समुदायमा मृत होली मनाइने गरिन्छ। ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ। रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ।
पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ भने फागु पूर्णिमापछि आठ दिनसम्म मृत होली मनाउने प्रचलन छ। राना समुदायको मृत होली अन्य समुदायको होली समापन भएपछि सुरु हुन्छ। फागु पूर्णिमा पछि रानाथारू समुदायमा होलीको रौनक छाउँछ। यो ८ दिनको समयमा गाउँका महिला पुरुष, वृद्धदेखि बालकसम्म होलीमा रमाउँछन्।
आठ दिनसम्म जुन घरमा होली खेल्यो त्यहीँ खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने भीमदत्त नगरपालिका–१९ कि मालती रानाले बताइन्। ‘राना थारु समुदायमा ८ दिनसम्म भलमान्सा, चौकीदार र अन्य गाउँलेहरूको घरमा पालैपालो होली खेलिन्छ। जुन घरमा होली खेल्यो त्यहीँ खाना खाएर रातभर होली खेलिन्छ’, रानाले भनिन्।
राना समुदायमा हिरण्यकश्यपुले विष्णु भक्त छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए। प्रह्लादलाई हिरण्यकश्यपुले होलीकाको काखमा बसालेर जलाउन खोजेका थिए। होलिकालाई आगो लगाएर प्रह्लादलाई जलाउन खोजे पनि होलिका आफै जलिन भने प्रह्लादलाई अग्निले केही गर्न सकेन। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर राना समुदायमा होली पर्व मनाउन थालिएको मान्यता छ।
यस्तै भगवान श्रीकृष्णले आफ्ना साथीहरूसँग गोकुलमा होली खेलेको सम्झना स्वरुप पनि राना समुदायमा होली मनाउने चलन रहेको धनगढी उपमहानगरपालिका–७ का नन्दलाल रानाले बताए। ‘प्रह्लादको सम्झना र श्रीकृष्ण भगवानले गोकुलमा ग्वालाहरूसँग होली खेलेको सम्झनामा राना थारु समुदायमा होली खेलिन्छ’, रानाले भने। राना थारु समुदायमा होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ।
परम्परागत रुपमा मनाइदै आएको होली एक महिना ८ दिनसम्म खेलिन्छ। परम्परा अनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। जुन घरमा होली खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ। पूर्णिमाको दिन होली दहनपछि ८ दिन मृत होली मनाउने चलन छ। होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आर्शिवाद माग्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ का कमलसिंह रानाले बताए।
‘होलीमा घरपरिवारका सदस्यहरूको सुख, शान्तिको कामना गरेर पुजा गरिन्छ। फागु पूर्णिमापछि ८ दिनसम्म होली खेल्ने गरिन्छ’, रानाले भने। राना थारु समुदायमा महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने गरिन्छ। केही वर्ष अगाडिसम्म ३८ दिनसम्म होली खेलिने भए पनि पछिल्लो समययता भने होली मनाउने समय घट्न थालेको छ।