हसुलियामा मनाइयो ग्लोबल मनि सप्ताह
धनगढीः कृषि विकास बैंक लिमिटेडले १२ औं ग्लोबल मनि सप्ताह मनाएको छ।
शुक्रवार कैलारी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय उजलिसेमरमा १२५ जना विद्यार्थीका माझमा “पैसाको सुरक्षा गर्नुहोस्, भविष्य सुनिश्चित गर्नुहोस“ भन्ने नाराका साथ ग्लोबल मनि मनाइएको हो। वित्तीय चेतना जगाउने विश्वव्यापी यो अभियान संसारका १७६ देशमा मनाउँदै आएको छ।
मार्चको तेस्रो साता मनाइने ग्लोबल मनि सप्ताहको १२ औ संस्करण यो वर्ष मार्च १८ देखि २४ सम्म अर्थात चैत ५ देखि ११ गतेसम्म नेपाल राष्ट्र बैंकको अगुवाइमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले मनाएका हुन्।
कैलारीमा भएको कार्यक्रम कृषि विकास बैंक लिमिटेड शाखा हसुलियाका प्रवन्धक नरेश अवस्थीले सञ्चालन गरेका थिए भने उक्त वित्तीय साक्षरता कार्यक्रममा बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, कम्पनीका सचिव हिमलाल पौडेल , सुदूर पश्चिम प्रदेश निर्देशक अर्जुन ढुङ्गाना , वरिष्ठ शाखा अधिकृत नारद बोगटी लगायत बैंकका कर्मचारी र विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिवावक संघका अध्यक्षको उपस्थिति रहेको थियो।