सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगर र सामुदायिक विद्यालयबिच कार्यसम्पादन सम्झौता

२०८० चैत्र ९, ०६:४५ नारायण अवस्थी


धनगढी:सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय विद्यालय शिक्षा प्रदान गर्न धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ।

बिहीवार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेला गरेर शैक्षिक सत्र २०८१ का लागि कार्यसम्पादन सम्झौता गरिएको हो। शिक्षकको शिक्षण क्षमता अभिवृद्धि गर्दै विद्यार्थी सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको छ। कार्यसम्पादन सम्झौताको पालना गर्न सके सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत दक्षतासँगै विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार हुने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। 'कार्यसम्पादन सम्झौताले विद्यालयहरूबिच सिकाइ अनुभव आदानप्रदान गर्न सहयोग पुग्नेछ,' उनले भने, 'विद्यालय र शिक्षकहरूबिच सिकाइ अनुभव साटासाट हुँदा त्यसको सकारात्मक प्रभाव स्वाभाविक रुपमा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा पनि पर्छ नै।'

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो काम प्रति जिम्मेवार बनाइ शैक्षिक सुशासन तथा पारदर्शिता कायम गर्ने उद्देश्य उपमहानगरको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, प्रशिक्षक तथा कर्मचारी एवम् विद्यार्थी सम्बद्ध समिति/ समूहहरूको अधिकतम परिचालन गरी विद्यालयको समग्र शैक्षिक विकास मार्फत सिकाइका वैकल्पिक अवसरहरू कार्यान्वयन गर्न कार्यसम्पादन सम्झौताले सहयोग पुगाउने अपेक्षा गरिएको छ।

सम्झौता कार्यान्वयन भए विद्यालयका दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा सम्पादित कार्यहरूलाई लिपिबद्ध गरि अभिलेखिकरण गरिनेछ। जसले गर्दा सबै विद्यालय र हरेक विद्यार्थीको अवस्थाको सही जानकारी प्राप्त हुनेछ। सामुदायिक विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउन  उपमहानगरपालिकाको तर्फबाट सबै प्रयास गर्ने नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताएकी छन्। उनले विगतभन्दा अहिले सबैको प्रयासले सामुदायिक विद्यालयको सिकाइमा सुधार भइरहेको र त्यसमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्।

कार्यसम्पादन सम्झौतामा विद्यालयको मूल्याङ्कनका लागि १० वटा मूख्य सूचक र ७२ वटा सहायक सूचकका आधारमा अङ्क प्रदान गरिनेछ। विद्यालयहरूले शैक्षिक व्यवस्थापन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र शिक्षक पेसागत विकासका सूचकहरूमा सुधारको काम गर्नुपर्ने छ। यसैगरी, विद्यार्थी मूल्याङ्कन, सहक्रियाकलाप, शैक्षिक तथ्याङ्क व्यवस्थापन, सुशासन र पारदर्शिता तथा प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयहरूले अङ्क पाउनेछन्।

सम्झौता कार्यान्वयन गरेर कुल एक सय अङ्कमा सर्वाधिक अङ्क ल्याएर प्रथम हुने सामुदायिक विद्यालयलाई सर्वोत्कृष्ट घोषणा गरी नगरपालिकाको स्थापना दिवसमा पुरस्कृत गर्ने  नगर प्रमुख गोपाल हमालले बताए। 'यो सम्झौतालाई बोझको रुपमा लिन आवश्यक छैन। यसलाई सामान्य हिसाबले लिएर काम गर्न आवश्यक छ,' नगर प्रमुख हमालले भने, 'उपमहानगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै किसिमको सहयोग र काम हामी गर्ने छौँ भने सिकाइ उपलब्धिमा सुधार ल्याउन सरहरूको भूमिका नै महत्त्वपूर्ण हुन्छ।'
धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूले कार्यसम्पादन सम्झौता अनुसार आगामी शैक्षिक सत्र भरी शैक्षिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा सुधार ल्याउन काम गर्ने भएका छन्। अम्झौताअनुरुप काम भए धनगढीका सामुदायिक विद्यालयहरूको शैक्षिक व्यवस्थापनमा सुधार ल्याउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न सम्भव हुने उपमहानगरले अपेक्षा गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस