धनगढी-अत्तरिया ६ लेनमा राजेन्द्र निर्माण सेवाका २ पुल अलपत्र
धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ सुनिखोलामा तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको ठेक्का पायो। राजेन्द्र निर्माण सेवासँग पुल निर्माणको म्याद २०८० असारमा सकिएको छ।
तर, सुनिखोला पुल निर्माणको काम ६५ प्रतिशत मात्र पूरा भएको छ। ३५ प्रतिशत पुलको काम राजेन्द्र निर्माण सेवाले म्याद सकिएको ९ महिनासम्म पनि गरेको छैन। पटक–पटक म्याद थप गरिएको भएपनि निर्माण कम्पनीले काम नगरेपछि अहिले म्याद थप गरिएको छैन। महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले एक वर्ष मर्मतको समय हुने बताए। उनले त्यो समय भित्र पुल निर्माणको काम गर्ने पर्ने बताए। उनले भने, ‘पुलको काम भएको छ। तर, सडकको काम बाँकी छ। म्याद असारमा सकिएको हो। थप भएको छैन। कारबाहीसमेत भएको छैन। एक वर्षसम्म डीएलटी चलेको छ। एक वर्षमा पूरा गर्न पर्छ। अहिले अलपत्र छ।’
गोदावरी नगरपालिकाकै मनहरा खोलामा पनि पुल निर्माणको काम अलपत्र छ। साढे ९ करोडको लागतमा निर्माण थालिएको पुल निर्माणको काम अलपत्र छ। उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले मनहरा खोलाको पुल निर्माणको जिम्मा पाएको छ। तर, पुलको डिजाइ संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको दाबी छ। तीन महिनाअघि महाकाली पुल आयोजना कार्यालयले संशोधनसहितको फाइल विभाग पठाएको छ। तर, स्वीकृत नहुँदा काम अघि बढ्न सकेको छैन। मनहरा पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको छ। चन्दले भने, ‘डिजाइन सच्याउनुपर्ने भएको छ। यताबाट हुँदैन। हामीले फाइल माथि पठाएका छौ। तर, स्वीकृत भएको छैन। तीन महिना भयो, फाइल पठाएको। एक शाखाबाट अर्कोको जान समय लाग्छ।’ राजेन्द्र निर्माण सेवाले धनगढी–अत्तरिया ६ लेन सडकका २ पुल अलपत्र पारेको हो।
यता २७ महिनामा सक्ने गरी २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति ३० प्रतिशत पूरा भएको छ। साढे १३ करोड लागतको मोहनापुलको जमिन मुनिको कामसमेत सकिएको छैन। मोहनापुल–अत्तरिया ६ लेन सडककै मोहना पुलको मात्र निर्माणको काम जारी छ। बाँकी दुईवटा पुल निर्माणको काम अलपत्र पारिएको छ। मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल हुनेछ। फुटपातसहितको पुल निर्माणका लागि २०८१ जेठ ५ गतेसम्म समय रहेको छ। चन्दले मोहनामा फान्डेसन र पाइलिङ्गको काम जारी रहेको बताए। उनले भने, ‘मोहनापुलको काम जारी छ। गेटाका २ पुलको काम अलपत्र छ। एक पुलको डिजाइन सच्याएका छौ। एक पुल राजेन्द्र निर्माण सेवाले काम नगरेकाले अलपत्र परेको हो।’
नेपाल–भारत सीमाना गौरीफन्टादेखि अत्तरियासम्मको सडक ६ लेनमा विस्तार भएपछि तीनवटा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय खारेज भएपछि महाकाली पुल आयोजनामार्फत पुल निर्माणको काम हुँदैछ। तर, सम्झौताको अवधिमा पुल निर्माणको काम पूरा नहुँदा साँघुरा पुराना पुलहरूबाट यातायात सञ्चालन हुँदै आएको छ।