धनगढीमा अध्यक्षबाटै तालको पैसा पाउन विद्यालयलाई सकस
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसिटामा रहेको बेहाडाबाबा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन स्थानीय हरिनारायण राना थारू।
अध्यक्ष रानाले विद्यालको नाममा रहेको तालमा माछा पाल्ने ठेक्का लिएका छन्। २०७९ साउनमा १० वर्षका लागि वार्षिक एक लाख ५० हजार मा अध्यक्ष रानाको व्यावसायिक फर्म श्री हरि माछापालनले तालको टेण्डर हात पारेको हो। तर, विद्यालयलाई अहिलेसम्म रकम बुझाउने काम भएको छैन।

गत वर्ष ताल टेण्डर प्रक्रियाबाट ठेक्कामा लागेको भए पनि विद्यालयलाई भाडा नबुझाइएको प्रधानाध्यापक भोजराज शर्माले बताए। ‘गत वर्षको साउनमा टेण्डर प्रक्रियाबाट ताल ठेक्कामा लागेको हो। वार्षिक दुई किस्तामा रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ, तर विद्यालयले रकम प्राप्त गर्न सकेको छैन’ प्रधानाध्यापक शर्माले भने। सन्झौतामा हरेक वर्ष पहिलो किस्ता पुस मसान्तसम्म र दोस्रो किस्ता असार मसान्तसम्म बुझाउनुपर्ने उल्लेख छ।
जसअनुसार श्री हरि माछापालनले फागुनसम्म विद्यालयलाई तीन किस्ता तिर्नुपर्ने हो। तर अहिलेसम्म न अध्यक्ष रानाले न त तेस्रो पक्षीय ठेकेदार चौधरीले नै विद्यालयलाई एक रुपैयाँ पनि बुझाएका छैनन्। श्रीहरि माछापालनका प्रोपाइटर रानाले विद्यालयलाई किस्ता र हर्जनासहित फागुन मसान्तसम्मको ४ लाख १२ हजार ५ सय नतिरेको पाइएको छ। पटकपटक किस्ता बुझाउन लिखित र मौखिक आग्रह गर्दा पनि रकम असुल हुन नसकेको प्रधानाध्यापक शर्माले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले व्यावसायिक फर्म आफ्नो नाममा दर्ता भए पनि टेण्डर भने धनगढी उपमहानगरपालिका–१५ का हरिदयाल चौधरीले हालेको बताए। झुक्याएर टेण्डर मागेको र तालमा पनि चौधरीले नै काम गरिरहेको अध्यक्ष रानाको दाबी छ। चौधरीले तिर्नुपर्ने रकम कानुनी हिसाबले आफूले तिर्नुपर्ने बुझेका अध्यक्ष रानाले चौधरीबाट अहिलेसम्मको रकम असुल गर्ने र ठेक्का तोड्ने बताए। ‘आफ्नै साथी हुन् चौधरी जी। टेण्डर हाल्न मेरो फर्मको कागज पत्र मागेका हुन्।

आफ्ना दुईवटा फर्ममा कम पैसा हाली मेरोमा बढी पैसा हालेर टेण्डर हात पारेका हुन्। अहिले पैसा तिरेका छैनन्’, उनले भने, ‘चौधरीबाट रकम असुल गरेर ठेक्का तोड्न प्रक्रिया थाल्ने छौँ।’ अर्काको फर्मको कागजात हात पारेर ठेक्का अबुल गरेका चौधरीले विद्यालयले ताल व्यवस्थापन गर्न गरेको २५ हजार रुपैयाँ समेत फिर्ता गरेका छैनन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले आफ्नै साथीले झुक्याएको दाबी गरे। उनले आफैले व्यावसायिक माछापालन गरिरहेको विद्यालय छेउको तालको समेत अन्तिम किस्ता तिर्न बाँकी छ।