सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चोरहरुको बिगबिगी, चारवटा सवारीसाधन नै गायब

२०८० चैत्र ५, ०२:०३

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा चोरहरुको बिगबिगी फेरी बढ्न थालेको छ। चोरीका ३७ घटना प्रहरीमा दर्ता भएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मात्र चारवटा सवारीसाधन चोरी भएका छन्। सो अवधिमा घर र पसलमा गरी ३१ चोरीका घटना भएको विवरण प्रदेश प्रहरी कार्यालय धनगढीले प्राप्त गरेको छ। साथै दुईवटा डाँका चोरीका घटना समेत भएका छन्। चोरहरुले चारवटा सवारीसाधन नै गायब गरिदिएका छन्। चोरीमा संलग्नको खोजी र कारबाहीको माग गर्दै घरधनी, पसल सञ्चालक र सवारीधनीले प्रहरीमा निवेदन नै दिएका छन्।

चोरहरु घरभित्र पसेर सुनचाँदी र नगद समेत चोरेर लगेको भन्दै पीडितले खोजीकार्य गरी क्षतिपुर्ति भराइदिन भन्दै प्रहरीमा निवेदन दिएका हुन्। चोरीका घटना सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै बढेको छ। गत पौष २० गते चोरहरुले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्।

धनगढी उपमहानगरपालिका–४ मा रहेको आफ्नो घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको तीर्थराज न्यौपानेले बताए। ‘आफु बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको पाए।’ त्यस्तै साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको थियो।

पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका–१ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको थियो। उनले गरगहना चोरी भएको विषयमा प्रहरीमा निवेदन नै दिएका थिए। चोरले छड्के तिलहरी एक तोला, माइली तिलहरी पाँच आना, पाइप जन्तर ७ आना, झुम्का १२ आना, हार साढे एक तोला र रानी हार चार आना चोरेका थिए।

त्यस्तै चोरले मोति क्लिक १५ आना, शिरबन्दी पाँच आना, टप तीन आना, औठी ६ आना र बाला एक तोला घरभित्रैबाट गायब भएको थापाले बताए। न्यौपाने र थापा दुबै जनाले आफ्नो श्रीमतीका गरगहना हराएको भन्दै प्रहरी कार्यालय र नेपाल सुनचाँदी व्यावसायी महासंघमा समेत खोजीकार्यमा सहयोगका लागि निवेदन दिएका थिए। यसरी एकपछि अर्को चोरीका घटना बढ्न थालेपनि संलग्नको खोजीमा प्रहरीले बेवास्ता गर्ने गरेको पीडितहरुको गुनासो छ।

कमेन्ट लोड गर्नुस