सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोपिए ६ हजार बढी विरुवा, तेस्रो चरणको हरियाली अभियान सुरु

२०८० चैत्र २, ०६:३६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरिया प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ।

शुक्रवार धनगढी विमानस्थल सडकमा बिरुवा रोपेर तेस्रो चरणको हरिया प्रवर्द्धन कार्यक्रम सुरू गरिएको हो। उपमहानगरपालिकाले तेस्रो चरणमा साढे पाँच हजार बिरुवा रोप्ने योजना बनाएको छ। यो वर्ष धनगढी विमानस्थल सडक, वडा नम्बर १३ मा पर्ने चक्रपथ र वडा नम्बर २ देखि फूलबारीसम्मको हुलाकी सडकमा वृक्षरोपण गर्ने उपमहानगरको तयारी छ।

शुक्रवार धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियानको सुरूवात गरिएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले धनगढी विमानस्थल सडकमा वृक्षारोपण गरेर तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियानको सुरुवात गरेकी हुन्। तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियान सुरू भएसँगै धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म  साढे चार सय बिरुवा रोपिने छन्।

चक्रपथ र हुलाकी सडकको भन्सारदेखि फूलबारीसम्म साढे पाँच हजार बिरुवा रोप्ने योजना रहेको निमिक्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए। ‘धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरिया प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। तेस्रो चरणको हरिया प्रवर्द्धन अभियानमा साढे पाँच हजार बिरुवा रोप्ने योजना बनाएको छ’, उनले भने, ‘यो वर्ष धनगढी विमानस्थल सडक, वडा नम्बर १३ मा पर्ने चक्रपथ र वडा नम्बर २ देखि फूलबारीसम्मको हुलाकी सडकमा वृक्षरोपण गर्ने भएको छ।

‘वृक्षारोपण गर्न धनगढी उपमहानगरपालिकालाई नागरिकबाट आर्थिक सहयोग प्राप्त भएको छ। प्रति बोटका लागि नागरिकबाट पाँच हजार रुपैयाँ स्वस्फूर्त रुपमा सहयोग प्राप्त भएको हो। धनगढीसहित देशका विभिन्न स्थान तथा विदेशमा बस्ने नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो। नागरिकबाट प्राप्त रकमबाट ट्रीगार्ड र बिरुवा खरिद गरेर वृक्षारोपण गरिन लागेको खातीले बताए। ‘वृक्षारोपणका लागि उपमहानगरपालिकालाई नागरिकबाट आर्थिक सहयोग प्राप्त भएको छ।

नगर प्रमुख ज्यूको पहलमा धनगढीबासी तथा नेपालको विभिन्न ठाउँ तथा विदेशमा बस्ने नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ’, उनले भने, ‘प्रति बिरुवा पाँच हजारका दरले सहयोग उपलब्ध भएको छ। त्यो पैसाबाट ट्रीगार्ड र बिरुवा खरिद गर्ने र लगाउने काम भइरहेको छ।’ धनगढीलाई हरियालीयुक्त सहर बनाउन आर्थिक वर्ष २०७९/८० बाट घोषित रुपमै वृक्षारोपण अभियान थालिएको हो।

अहिलेसम्म धनगढीमा पर्ने ६ लेन सडकको मेडियन र दुबै किनार तथा क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा वृक्षारोपण सम्पन्न भएको छ। यस्तै, बजार क्षेत्रको निर्माण सम्पन्न भएको सडकहरूमा पनि वृक्षरोपण गरिएको छ। तेस्रो चरणमा विमानस्थल सडक र हुलाकी सडकमा वृक्षारोपण गरिने नगर प्रमुख गोपाल हमालले बताए।

‘तेस्रो चरणमा विमानस्थल सडक र वडा नम्बर १३ मा पर्ने चक्रपथमा वृक्षारोपण गरिनेछ’, उनले भने, ‘यो चरणमा वडा नम्बर २ देखि फूलबारीसम्मको हुलाकी सडकमा पनि वृक्षारोपण गरिनेछ।’ धनगढीमा पहिलो र दोस्रो चरणमा ६ हजार २२४ बिरुवा रोपिएको उपमहानगरले जनाएको छ। रोपिएका बिरुवाको सुरक्षाका लागि ट्रीगार्ड राख्ने, मल हाल्ने, सिँचाइ तथा समय–समयमा गोडमेल गर्ने काम उपमहानगरले गर्दै आएको छ। तेस्रो चरण सकिँदासम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस