धनगढीमा नेपाली सेना दिवस मनाइयो
धनगढीः नेपाली सेनाले धनगढी रङ्गशालामा सेना दिवस मनाएको छ। नेपाली सेनाको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले धनगढी रङ्गशालामा २६१ औँ नेपाली सेना दिवस मनाएको हो।
नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउने गरेको छ। तर, धनगढीमा एक दिन ढिलो दिवस मनाइएको हो। धनगढीमा शनिवार मनाइएको सेना दिवसमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगाएत विभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो।
जनस्तरमा नेपाली सेनाको सम्बन्ध बलियो बनाउन प्रदेश स्तरमा प्रस्तुति तथा पदर्शनीसमेत गरिएको छ। धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६, २७ र २८ गतेका दिन ‘विविध सैनिक प्रदर्शनी ‘युनीटी रन–२०८० समेत गरिने सेनाले बताएको छ।
नेपाली सेनाले तीन दिनसम्म सञ्चालन हुने सैनिक प्रदर्शनीमा नेपाली सेनाको युद्धक, युद्ध मद्दती तथा युद्ध सेवा मद्दती युनिटहरुको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोशाक, सामग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनी गरेको हो।
२८ गतेको बिहान ७ बजे ‘युनिटी रन– २०८०’ का विभिन्न विधाहरूमा उमेर समूह अनुसार ५ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ। दौडमा भाग लिने कक्षा १० सम्म र ११ तथा १२ कक्षाको छात्रछात्राहरूलाई छुट्टा समूहमा मूल्याङ्कन गरिने छ। कक्षा १० सम्म र ११ तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थी मध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार दिइने नेपाली सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ।
सेना दिवसको अवसरमा महिला र पुरुषको १० किलोमिटर खुल्ला दौड प्रतियोगिताका समेत हुने भएको छ। १० किलोमिटर दौडमा प्रथम स्थान हासिल गर्ने महिला र पुरुषलाई माउन्टेन बाइक सहित नगद १५ हजार पुरस्कार दिइने भएको छ। यस्तै, १० किलोमिटर दौडमा द्वितीय हुने धावकलाई नगद १० हजार तथा तृतीय स्थान हासिल गर्ने धावकलाई नगद ७ हजार पुरस्कार दिइने छ। धनगढी रङ्गशालामा तीन दिनसम्म चल्ने सैनिक प्रदर्शनीको अवलोकन गर्न नेपाली सेना, सुदूरपश्चिम पृतना हेड क्वाटरले सर्वसाधारणलाई अनुरोध गरेको छ।