कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो। बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बताए।
कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नलिइसकेको उनको तर्क छ। यसैगरी, बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको नेता केसीले बताए।