सुदूरपश्चिममा आरआइटी काम लागेन, अब ‘पीटीआइ’ले अपराध अनुसन्धान गर्ने
धनगढीः २०८० असारमा नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरियो।
तत्कालिन प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका थिए। त्यस बेला बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका थिए।
आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको थियो। सुदूरपश्चिममा साविक सुदूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुर्व्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो। अहिले फेरी सुदूरपश्चिममा अपराध अनुसन्धानका लागि भन्दै एउटा छुट्टै टोली गठन गरिएको छ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका हुन्। तत्कालीन डीआईजी बोहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै पुनर्गठन गरेको पृष्ठभूमिमा वर्तमान डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी) नाम दिएर छुट्टै टोली गठन गरेका छन्।
प्रहरी नायब निरीक्षकको नेतृत्वमा यस्तो टोली गठन गरिएको हो। उक्त टोलीले प्रदेशभित्र अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने उल्लेख छ। प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयोगी प्रहरीलाई समावेश गरिएको डीआइजी केसीको दाबी छ।
केसी प्रदेश प्रहरीको प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत प्रहरी कर्मचारीको काम सन्तोषजनक नदेखिएपछि जिम्मेवारी हेरफेर गरेका थिए। जिम्मेवारी हेरफेर गर्दा पनि परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।