मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट
नेपालगञ्जः महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएको छ।
चार्टर्ड फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दुरदर्शन गरेका छन्। श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन्। शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ।
कोभिड महामारी सुरू हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए। मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए। पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो।