सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन। नेकपा एकीकृत समाजवादीले दिएको समर्थन बिहिवार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्।
माओवादी केन्द्रले बुधवार नै मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो। एकीकृत समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्री नियुक्त भएका नरेशकुमार शाहीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन। उनले भनेका छन, ‘झन्डै १४ महिना आर्थिक मामिला मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्वपूर्ण भूमिका निर्वाह गरेर बिदाइ भइरहदा मेरा सम्पूर्ण मतदातालाई सम्झिन र धन्यवाद दिन चाहन्छु। मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुहुने पार्टी नेतृत्वलाई विशेष आभार व्यक्त गर्दछु। मलाई जिम्मेवारीमा रहदा राजनीतिक नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि उहाँहरू सबैलाई हार्दिक धन्यवाद छ।’ उनेले सुदूरपश्चिमको विकासमा थप पैरवी गर्ने क्षेत्र र दायरा फराकिलो भएको तर्कसमेत गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १९ प्रदेश सभा सदस्यहरू हुन। उनीहरूमा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो। काँग्रेसका अहिले १८ जना मात्र प्रदेश सभा सदस्यहरू छन्। मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्यहरूको समर्थन बाँकी छ। नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका गरेर २५ जना प्रदेश सभा सदस्यहरूको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको छ। प्रदेश सभामा बहुमतका लाग २७ जना सदस्यको समर्थन आवश्यक हुन्छ। सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एमालेका १०, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यहरू मुख्यमन्त्रीको विपक्षमा भएका छन्। मुख्यमन्त्री शाहको विपक्षमा २७ प्रदेश सभा सदस्यहरू भएका छन्।
केन्द्रीय राजनीतिमा भएको परिवर्तनका कारण सुदूरपश्चिम सरकारसमेत सङ्कटमा परेको हो। सङ्घमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री रहने गरेर नयाँ गठबन्धन बनेको छ। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएका छन्। तर, नागरिक उन्मुक्ति पार्टीले निर्णय लिएको छैन।