रास्वपाले गृहसहित ४ मन्त्रालय पाउँदै, वर्षमान पुन अर्थमन्त्री बन्दै
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ।
बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो। बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ। अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ। रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ।
वर्षमान पुन अर्थमन्त्री बन्दै
माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन्। माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो। पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए। २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए। त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए। पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन्।