कैलालीमा लक्ष्मीको घरखेत गुम्दै, १० कट्टा हड्पेका खातुन दम्पत्ति फरार
वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा एक एकल महिलाको घरखेत गुम्दैछ।
जिल्लाको भजनी नगरपालिका वडा नम्बर १ कुडीकि लक्ष्मी बमको पुरै घरखेत गुम्न लागेको हो। १० लाख दिने भन्दै १० कट्टा जमिन हड्पेका धनगढी उपमहानगरपालिका वडा नम्बर १ का नयम अहमतकि श्रीमती ४१ वर्षीया साहजान खातुनसहित दुबै श्रीमान/श्रीमती सम्पर्कविहिन भएपछि जग्गाधनी लक्ष्मीको घरखेत लिलाम गर्न ज्योति विकास बैंकले पूष महिनामै ३५ दिने सूचना जारी गरिसकेको छ।
२०७७ साल असोज २५ गते खातुनले १० लाख दिने भन्दै लक्ष्मीका श्रीमान यज्ञ बमबाट साविक खैलाड गाविस वडा नम्बर ४ को कित्ता नम्बर ५७२ को ०–१०–० जग्गा खातुनको नाममा नामसारी गरेको कागज गरिएको छ। तर लक्ष्मीका श्रीमानको दुई वर्षअघि निधन भएपछि यतिबेला लक्ष्मी झन विचल्लीमा परेकि छन्।
लक्ष्मीको १० कट्टा जमिन आफ्नो नाममा पास गरेर लक्ष्मीका श्रीमानलाई १० लाख दिने र पाँच वर्षपछि जमिन फिर्ता गर्ने गरी पास बन्धक बनेको छ। यस्तो सम्झौता भएको पाँच वर्ष पुग्न अझै दुई वर्ष बाँकी छ। तर सो लालपुर्जा राखेर बैंकबाट ऋण लिएका खातुनले २०७७ सालदेखि ब्याज रकम बैंकलाई नबुझाएपछि सो जमिन बैंकको लिलामीमा परेको छ।
सम्झौताअनुसार तत्काल काम चलाउन बमलाई १० लाख दिने, पाँच वर्षपछि १० लाख नै फिर्ता गरेपछि जमिन फिर्ता गरिदिने, बैंकको व्याज भने खातुन आफैले तिर्ने मौखिक सहमति थियो। तर खातुनले बैंकलाई तिर्नुपर्ने साँवाव्याज नतिरेपछि लक्ष्मीको १० कट्टा जमिनसहित घर समेत गुम्न लागेको हो। खातुन दम्पत्ति भने अहिले कसैको सम्पर्कमा छैनन्। खातुनकै नाममा बैंकले जग्गा लिलामीको सूचना जारी गरेको छ। बैंकले निकालेको सूचनाको म्याद समेत गुज्रिसकेको छ।
सम्झौताअनुसार खातुनले बमलाई १० लाख दिने, त्यसको व्याज आफै तिरीदिने, जग्गा फिर्ता लिँदा लागेको सरकारी बैंक व्याज तिर्ने बुझाउने र अड्डामा लाग्ने पास खर्च एक लाख रुपैयाँ बमले नै तिर्ने गरि दोहोरो चरित्रको कागज बनाइएको छ। श्रीमानको सोझोपनको फाइदा उठाएर व्याज र साँवा सबै आफै तिर्ने भनेको खातुनले काजगमा यस्तो लेखेर सहिछाप गराएको रहेछ, लक्ष्मीले भनिन्। खातुनले चार लाखको चेक दिएको समेत फेला परेको छ। तर उक्त चेक अहिलेसम्म साटिएको छैन्।
जग्गा पनि गुम्दैछ, दिन्छु भनेको पैसा पनि दिएन लक्ष्मीले भनिन्। अहिले दुबै श्रीमान/श्रीमती फरार रहेको उनले बताइन्। अब घरखेत नै छोड्नुपर्ने भएपछि के खाने कहाँ बस्ने, यो उमेरमा कहाँ जाने भन्ने चिन्ताले सताउने थालेको पीडित लक्ष्मीको गुनासो छ। खातुनका भन्जा मोहितका अनुसार उनी नेपालमा नभएर भारतमा रहेको बताए। तर तीन महिनादेखि आफ्नो पनि सम्पर्क नभएको बताए। खातुनले बमलाई मात्र नभएर अरुलाई फसार फरार भएको बुझिएको छ।