सेती अस्पतालमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु
धनगढीः सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको छ।
प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको हो। अस्पतालमा ल्याफ्स्कोप जडान भएपछि दुरबिन विधिबाट शल्यक्रियाको काम थालिएको युरोलोजिष्ट डाक्टर जोनस तिवारीले बताए। बिहिवार अछामकी सेतु साउँदको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ। सेतीमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सुरु गरिएको उनले बताए।
उनले भने, ‘हाम्रो लामो समयको प्रयास सफल भएको छ। न्यूरो सर्जरी सम्बन्धि उपकरण जडान गरिएको छ। अब दुरबिन विधिबाट शल्यक्रिया गर्न मिल्ने भएको छ। यसबाट बिरामीले राहत पाउने भएका छन।’ सेती प्रादेशिक अस्पतालमा बिहिवार मात्र तीन जनाको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ। शरिर चिरेर गरिने शल्यक्रियाभन्दा दुरबिन विधिबाट गरिएको शल्यक्रिया आधुनिक मानिन्छ।
दुरबिन विधिबाट गरिने शल्यक्रिया सुरक्षित समेत मानिन्छ। सबै उमेर समूहका व्यक्तिको दुरबिन विधिबाट मृगौलाको पत्थरी, पिसाब नलीको पत्थरी, पिसाब थैलिको पत्थरी, ग्रन्थी तथा मृगौला फाल्ने कामसमेत सेती अस्पतालमा सुरु भएको छ। युरोलोजिष्ट डाक्टर जोनस तिवारीले भने, ‘किड्नीको पत्थरी, पिसाब नलीको पत्थरी, पिसाब थैलीको पत्थरी, ग्रन्थीको चिरेर पहिलाबाट काम गरिरहेको हो। दुरबिन विधिबाट पहिलो पटक हो।
मृगौला फाल्ने काम पनि हुन्छ।’ प्रादेशिक अस्पतालमा युरोसर्जन डाक्टर जोनस तिवारीको नेतृत्वमा एनेस्थेसियाका डाक्टर पूर्ण राधा श्रेष्ठसहितको टिमले शल्यक्रिया गर्नेछ। पत्थरीको शल्यक्रिया गर्न बढीमा २५ हजार खर्च हुनेछ। मृगौलाको पत्थरीको जस्तोसुकै सल्यक्रिया र औषधिसहित २५ हजार खर्च लाग्ने भएको हो। शल्यक्रिया सेवामा थप सुधार ल्याएको बताउँछन् सेती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाही।
उनले सुदूरपश्चिममै पहिलो पटक सेतीमा दुरबिन विधिबाट शल्यक्रिया सुरु भएको बताए। उनले भने, ‘मृगौलाको शल्यक्रियाका लागि टाढा जाने र खर्च बढी लाग्ने थियो। हामीले दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु गरेका छौँ। यो सुदूरपश्चिमका लागि खुसीको विषय हो।’ यसअघि सेतीमा दुरबिन विधिबाट शल्यक्रियाको सेवा नभएपछि बिरामीहरुले नीजि अस्पताल धाउनुपर्ने बाध्यता थियो। अब सेतीबाटै यस्तो सेवा सुरु भएपछि बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ।