विद्युत् निर्यात गर्न बङ्गलादेशसँगको वार्ता सकारात्मक
काठमाडौँः नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ।
आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको छ। दुबै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिबीच आज बङ्गलादेशको ढाकामा बार्ता भएको हो। विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।