धनगढी विमानस्थलमा भीम रावल र लेखराज भट्टको जम्काभेट
धनगढी : कैलालीको धनगढी विमानस्थलमा नेकपा एमालेका नेताहरू भीम रावल र लेखराज भट्टको बिचमा जम्काभेट भएको छ। एमालेका सचिव भट्ट र पूर्व उपाध्यक्ष रावलको बिचमा मङ्गलवार विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो।
एमाले कैलालीको अधिवेशनको उद्घाटनमा आएका भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौँ जाँदै थिए। रावल अछामको वैद्यनाथ कोटिहोममा सहभागी हुन सुदूरपश्चिम आएका हुन्। विमानस्थलको विशिष्ट कक्षमा उनीहरूको बिचमा राजनीतिक विषयमा कुरा भएन। तर, भट्टले रावललाई घरमा जारी महायज्ञको प्रसाद ग्रहणका लागि निम्तो दिएका छन्। उनीहरूको बिचमा विमानस्थलको विशिष्ट कक्षमा ३० मिनेट भन्दा बढी कुराकानी भएको हो।
भट्टले ठट्टा गर्दै रावललाई भने, ‘कामरेड अब पार्टी बनाउन एउटा ठुलो महायज्ञ लाउनु पर्यो।’ भट्टलाई रावलको उत्तर थियो, ‘म तयार नै छु। तर, महायज्ञमा स्वाहा–स्वाहा गर्ने बहुनले पर–पर पर भनेपछि के गर्ने ?’ उनीहरूको भेटका क्रममा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य सहदेव बोगटी, कमला बोहरा, सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउँद लगाएत उपस्थित थिए।