सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगाका करार कर्मचारीको नाममा ६ महिनामै दुई करोड ३६ लाख खर्च

२०८० फाल्गुन ५, ०५:५५ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाका करार सेवाका कर्मचारीको तलब–भत्तामा मात्र ६ महिनामा २ करोड ३६ लाख खर्च भएको छ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रसहित प्राविधिक, सवारी चालक र प्रशासनिक कामका लागि करार सेवामा कर्मचारी भर्ना गरेको थियो। ती कर्मचारीहरुको तलब र भत्तामा चालु आर्थिक वर्षको ६ महिनामा २ करोड ३६ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ खर्च भएको छ। त्यस्तै नगरपालिकातर्फका करार सेवाका कर्मचारीका लागि सो अवधिमा ९३ लाख ४३ हजार ९४८ रुपैयाँ खर्च भएको छ।

ती कर्मचारीका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले एक करोड ८२ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको थियो। नगरपालिका तर्फका करार सेवाका कर्मचारीका लागि विनियोजन गरेको बजेटमा ८८ लाख ७४ हजार ५२ रुपैयाँ मात्र बाँकी छ।
नगरपालिकाले श्रावण र भाद्र महिनामा २२ लाख ४० हजार ६ सय ४६ रुपैयाँ नगरपालिका तर्फका करार सेवाका कर्मचारीलाई भुक्तानी दिएको थियो। सो समयमा कृषि तर्फका कर्मचारीले २ लाख चार हजार ७ सय २२ रुपैयाँ भुक्तानी लिएका थिए।

दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरूले श्रावण र भाद्र महिनामा तीन लाख ७२ हजार चार सय ७३ रुपैयाँ भुक्तानी लिएका थिए। ती कर्मचारीले असोज महिनामा पारिश्रमिकसहित चाडपर्व खर्चसमेत बुझेका छन्। नगरपालिकाले स्वास्थ्य क्षेत्र अन्तर्गत करार सेवाका कर्मचारीका लागि ६ महिनाको अवधिमा एक करोड ४३ लाख ३२ हजार २ सय ५७ रुपैयाँ खर्च गरेको छ। स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि श्रावण र भाद्र महिनामा २० लाख १६ हजार २ सय ३८ रुपैयाँ भुक्तानी दिइएको थियो।

आधारभूत स्वास्थ्य, एम्बुलेन्स चालक, नगरपालिकाको स्वास्थ्य क्षेत्र लगायतका लागि मासिक ठुलो रकम खर्च हुँदै आएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा १० जना कर्मचारी करार सेवामा भर्ना गरेको छ। पूजा केसी पशु चिकित्सक, मानबहादुर रावत कृषि प्राविधिक, नरेश साउँद र मुकेश चौधरी एम्बुलेन्स चालक, प्रदिप चौधरी हलुका सवारी चालक छन्।

गणेश नेपाली र चन्द्रा रोकाया सर्वेक्षण तथा गणेश धामी, हर्क बुढा र गणेश नेपाली अमिन हुन्। नयाँ भर्ना गरिएका कर्मचारीमध्ये पशु चिकित्सक, कृषि प्राविधिक, एम्बुलेन्स चालक र हलुका सवारी चालक करार सेवाका हुन भने सर्वेक्षण र अमिनहरू ज्यालादारीका कर्मचारी हुन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस