कैलालीको गौरीगंगाका पदाधिकारीको पारिश्रमिकमा ६ महिनामा ५६ लाख खर्च
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका जनप्रतिनिधिहरूले एक महिनामा मात्र ८ लाख २९ हजार पारिश्रमिक बुझ्दै आएका छन्। नगरपालिकाका पदाधिकारीहरुले ६ महिनामा ५५ लाख ९० हजार पाँच सय रुपैयाँ पारिश्रमिक बाफत बुझेका छन्। चालु आर्थिक वर्षका लागि एक करोड १० लाख पदाधिकारीको पारिश्रमिकका लागि विनियोजन गरिएकोमा ५४ लाख नौ हजार पाँच सय रुपैयाँ मात्र बाँकी छ।
गौरीगंगा नगरपालिकाको कार्यालयको तथ्याङ्क अनुसार श्रावण र भाद्र महिनाको पारिश्रमिक बाफतको १६ लाख ५८ हजार रुपैयाँ असोज ४ गते भुक्तानी भएको छ। असोज महिनाको पारिश्रमिक समेत २२ गते असोजमा भुक्तानी भएको छ। नगरपालिकाले पदाधिकारीलाई एकै महिना २ पटक पारिश्रमिकको भुक्तानी दिएको हो।
जनप्रतिनिधिहरूले कात्तिक महिनामा आठ लाख २९ हजार पारिश्रमिक बुझेका छन्। नगरपालिकाले कात्तिक २४ गते नै सो महिनाको पारिश्रमिक बाफतको रकम भुक्तानी दिएको थियो। मंसिर महिनाको भुक्तानी पुस १ गते दिइएको छ। पुस १ गते नगरपालिकाबाट पदाधिकारीहरूले ८ लाख २९ हजार बुझेका छन्। फेरि पुस २६ गते सोही महिनाको पारिश्रमिक उनीहरूले पाएका छन्। पुस महिनाको ८ लाख २९ हजार रुपैयाँ नगरपालिकाले २६ गते भुक्तानी दिएको हो।
नगरपालिकाबाट ६ महिनामा ५५ लाख ९० हजार पाँच सय भुक्तानी लिएका जनप्रतिनिधिहरूका लागि विनियोजन गरिएको रकममा ५४ लाख नौ हजार पाँच सय मात्र बाँकी छ।
इन्धनमा ९ लाख २९ हजार खर्च
जनप्रतिनिधिहरूले थप नौ लाख २९ हजार चार सय ३० रुपैयाँ इन्धनको नाममा खर्च गरेका छन्। जनप्रतिनिधि र कर्मचारीले इन्धनको नाममा ६ महिनामा नौ लाख २९ हजार चार सय ३० रुपैयाँ खर्च गरेका हुन्। इन्धनका लागि विनियोजन गरिएको १० लाखमा ७० हजार पाँच सय ७० रुपैयाँ मात्र बाँकी छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरिएको १० लाख रुपैयाँ ६ महिनामै सकिएको हो। पदाधिकारीले बुझ्दै आएको भत्ताको विवरण भने नगरपालिकाले उल्लेख गरेको छैन।