खानेपानी संस्थान धनगढीको बक्यौता रकम बढेर १ करोड ५८ लाख नाघ्यो
सरकारी कार्यालय नै तिर्दैनन् खानेपानीको बिल
धनगढीः नेपाल खानेपानी संस्थान धनगढीको बक्यौता रकम बढेर एक करोड ५८ लाख ८० हजार नाघेको छ।
संस्थानको वर्षेनि बक्यौता रकम बढ्दै गएको छ। खानेपानी उपभोक्ताले नै महसुल तिर्न आनाकानी गर्दै आएपछि बक्यौता रकम वर्षेनि बढ्दै गएको हो। नेपाल खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्रकुमार शाहले उपभोक्ताहरुले खानेपानीको महसुल नलिर्दा बक्यौता बढेको बताए। उनले भने, ‘उपभोक्ताहरुले समयमा नै पानीको पैसा दिदैनन्। समयमा रकम नदिएपछि बक्यौता रकम बढ्दै गएको हो।
हाम्रो न्युनतम एक सय १० रुपैयाँ मात्र हो। हामीले पानी सुधार गरेका छौ। तर, उहाँहरुले शुल्क बुझाउनुभएको छैन।’खानेपानी संस्थान, धनगढीको २०७७/७८ मा एक करोड ५० लाख २७ हजार बक्यौता रकम थियो। २०७८/७९ मा एक करोड ४४ लाख ४० हजार आठ सय ९५ रुपैयाँमा झरेको थियो।
तर, गत आर्थिक वर्षमा भने बढेर एक करोड ५० लाख २४ हजार तीन सय ३२ रुपैयाँ बक्यौता रकम पुगेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पुससम्म मात्र एक करोड ५८ लाख ६० हजार ७८ रुपैयाँ बक्यौता रकम पुगेको छ। कार्यालय प्रमुख शाहले भुक्तानी गरिदिन भन्दै गत आर्थिक वर्षमासमेत पत्रचार गरेको बताए। तर उहाँहरुले भुक्तानी गर्नुभएको छैन, उनले भने।
सरकारी कार्यालय नै तिर्दैनन् खानेपानीको बिल
धनगढी उपमहानगरपालिकाले खानेपानीको महसुल नतिरेको फेला परेको छ। उपमहानगरपालिकाले नगरपालिका हुँदा देखिकै सार्वजनिक धाराहरुको महसुल तिर्न बाँकी देखिएको छ। धनगढी नगरपालिकाले कार्यालयसँगै कृष्ण मन्दिर, ओम शान्ति टोल र बसपार्क क्षेत्रमा जडान गरिएका सार्वजनिक धाराहरुको महसुल तिरेको छैन। उपमहानगरपालिकाको कार्यालयमा जडान गरिएका धाराको एक लाख १९ हजार र २ लाख ४९ हजार खानेपानी उपभोगवाफतको बिल तिर्न बाँकी छ।
कृष्ण मन्दीरमा जडान गरिएको सार्वजनिक धाराको २ लाख ५८ हजार बक्यौता छ। ओमशान्ति टोलको धाराको २ लाख २८ हजार बक्यौता उठेको छैन। खानेपानी संस्थान धनगढीका कार्यालय प्रमुख शाहले सरकारी कार्यालयहरुले समेत महशुल्क नतिरेको बताए। उनले भने, ‘सरकारी कार्यालयहरुले समेत समयमा नै शुल्क तिर्ने गरेका छैनन्। खानेपानीको सप्लाई राम्रो गरेका छौ। तर, सरकारी कार्यालयहरुले समेत महसुल तिर्नुभएको छैन।’
धनगढी नगर विकास समितिले समेत खानेपानीको महसुल तिरेको छैन। समितिले २ लाख ५८ हजार र ९३ हजार गरेर २ वटा धाराको महसुल तिरेको छैन। टोल विकास समितिहरुले समेत खानेपानीको महसुल तिरेका छैनन। नवदुर्गा टोल विकास समितिले ९५ हजार महसुल तिरेको छैन। खारेजी भएका सरकारी कार्यालयहरुले समेत महसुल नदिएको संस्थानको तथ्याङ्क छ।
जिल्ला विकास समितिले ९१ हजार, मोहना सिँचाइले ५२ हजार, कैलाली–कञ्चनपुर टुबवेल सिँचाइ आयोजनाले एक लाख १९ हजार र धनगढी–डडेल्धुरा राजमार्गले एक लाख ९५ हजार महसुल तिर्न बाँकी छ। २ सय २ वटा सरकारी कार्यालयहरुले २७ लाख ५६ हजार ८ सय १३ रुपैयाँ ४२ पैसा खानेपानी महसुल तिर्न बाँकी छ। खानेपानी संस्थान, धनगढीले आठ हजार ९ सय ७१ वटा धारा अहिलेसम्म जडान गरेको छ। तीमध्ये धेरै धाराको रकम नउठेपछि पाइप काट्ने तयारी हुँदैछ।