सेती लोकमार्ग निर्माणमा जताजतै अबरोध, डोटीमा थन्कियो डोजर
धनगढीः सेती लोकमार्गको ट्रयाक निर्माण गर्न डोटी पुगेको डोजर एक वर्षदेखि थन्किएको छ।
डोटीको बडीकेदार गाउँपालिकाको ओखलढुङ्गामा पुगेको स्काभेटर एक वर्षदेखि थन्किएको हो। सडक निर्माणका लागि पुगेको डोजर एक वर्षदेखि थन्किएपछि स्थानीय निरास भएका छन्। सडकको ट्रयाक निर्माणका लागि खेतमा बालीसमेत नलगाएका स्थानीय निरास भएका छन्। सेती लोकमार्ग निमाणपछि दैनिक जीवनमा परिवर्तन आउने आसमा रहेका डोटीको बडीकेदार, बोगटान क्षेत्रका स्थानीय निरास भएका हुन्।
एक स्थानीयले भने, ‘३० वर्ष भयो सडक नाप गरिएको छ। सडक खनिएको छैन। खन्ने मात्र भन्छन। तर, खन्दैनन।’ डोटी क्षेत्रको ४० किलोमिटर सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश नभएकाले एक वर्षदेखि डोजर ओगलढुंगामा थन्किएको छ। एक स्थानीयले भने, ‘वनका कारण काम रोकिएको छ। हामीले नेताहरुलाई फोनसमेत गर्ने गरेका छौ। तर, उहाँहरुको पहल भएको छैन।’
सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख पुजन गिरीले वनका कारण सडकको ट्याक निर्माणको काम रोकिएको बताए। उनले भने, ‘वातावरणीय अध्ययन गर्दा रुखको संख्या मिलेको छैन। संशोधनका लागि मन्त्रालय पठाएका छौ। योजनाको प्राथामिक्ता राष्ट्रिय योजना आयोगले खुलाउन बाँकी छ। मन्त्रीपरिषद्बाट कटान आदेश आएपछि काम हुन्छ।’ करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।
२५५ किलोमिटर ट्रयाक निर्माण बाँकी
कैलालीको टीकापुरदेखि चीनको ताक्लाकोटसम्म सेती लोकमार्गको लम्बाइ तीन सय ५९ किलोमिटर छ। अहिलेसम्म २ सय चार किलोमिटर सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ। एक सय ५५ किलोमिटर सडकको ट्रयाक निर्माण भएको छैन। कैलाली खण्डमा समेत तीन किलोमिटर सडकको ट्रयाक निर्माणको काम पूरा भएको छैन। कैलाली क्षेत्रको सडकमा पर्ने रुख कटानीको स्वीकृत नदिएकाले काम ढिलो भएको दाबी छ।
टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न २०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो। तर, चार वर्षपछि २०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दिएको थियो। गिरीका अनुसार डिभिजन वन कार्यालय, पहलमानपुरले रुख कटानीका लागि समय थप गर्नुपर्ने भएको हो। कैलालीतिर कटानी आदेश आएको छ। वनको म्याद सकिएको छ। पहलमानपुर फाइल पठाएका छौ। कैलालीमा समस्या छैन। यो आर्थिक वर्षमा कैलालीको काम सकिन्छ। डोटीमा यो वर्ष रुख कटानीका लागि आदेश लिन्छौ।
अछाममा पनि रुखले समस्या
सेती लोकमार्गको अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ। अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ। २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो। सेती लोमार्ग दक्षिण खण्डका प्रमुख पुजन गिरीका अनुसार चालु आर्थिक वर्षमा रुख कटानीको आदेश लिनेछ। उनले भने, ‘साँफेदेखि सेती तिरको भागमा हो। तीन खण्डमा अहिले काम हुँदैछ।’
बाजुरामा सर्भे हुँदै
बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन। बाजुरा क्षेत्रमा विभागबाट अध्ययन हुँदैछ। विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माणको चरणमा रहेको गिरीले बताए। उनले भने, ‘हामी गएका छैनौ। भुुर्गकोट क्षेत्रमा अध्ययन गर्दैछ।’ चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ।
कैलालीमा १५ किलोमिटर कालोपत्र हुँदै
सेती लोकमार्गको कैलाली खण्डमा १५ किलोमिटर कालोपत्र हुने भएको छ। चालु आर्थिक वर्षमा कैलालीको दुुुर्गौलीदेखि प्रतापुरसम्म कालोपत्रका स्रोत सुुचिश्चिता आएको छ। गिरीले भने, ‘१३ किलोमिटरदेखि बौनियासम्म काम भएको छैन। प्रतापुरसम्म कालोपत्र गर्न सकिन्छ होला।’