कैलालीको मोहन्यालबाट नदीको दोहन गर्ने जेसीबीसहित तीन सवारी नियन्त्रणमा
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाको क्षेत्रबाट तीन सवारी नियन्त्रणमा लिइएको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ भैँसीमाराबाट एक जेसीबीसहित २ टिप्परलाई जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खजराज भुषालसहितको टिमले नियन्त्रणमा लिएको हो।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका अध्यक्षसमेत रहेको भुषाल नेतृत्वको समूहले तीन वटा सवारी नियन्त्रणमा लिएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ क १९२२ नम्बरको जेसीबी, सुदूरपश्चिम प्रदेश ०१–००१ क १७५४ र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५०३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ। स्थानीय प्रशासनको नियन्त्रणमा लिइएका सवारीहरू इलाका प्रहरी कार्यालय, बैनियाको जिम्मामा राखिएको छ। मोहन्याल गाउँपालिकासँगको समन्वयमा उनीहरूलाई नगद कारबाही गरिनेछ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक ऐनको अनुसूची ७ अनुसार सवारीलाई कारबाही गरिने भएको हो। मोहन्याल गाउँपालिकाबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्रीका लागि ठेक्का पाएको कम्पनीले भाडामा सवारी सञ्चालन गर्दै आएको फेला परेको छ। चुरे भावर क्षेत्रका नदीमा दोहन गरिएको भन्दै तीन सवारी मङ्गलवार नियन्त्रणमा लिइएको हो।
कैलालीको गोदावरी नगरपालिका क्षेत्रका तीन नदीबाट समेत १९ वटा सवारी नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई समेत नगद जरीमान गरेर छोडिएको थियो।