सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सवमा नक्कली टिकट प्रकरण: अत्तरियाका थप चार जना विरुद्ध जाहेरी

२०८० माघ १७, ०५:०० कमल सावद

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री गरेको आरोपमा थप चार जना विरुद्ध कैलाली प्रहरीमा जाहेरी परेको छ। कैलालीको अत्तरियामा लागेको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री गरेको भन्दै उनीहरूको विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी पुगेको हो। तर, जाहेरी दर्ता भएको छैन।

अत्तरिया उद्योग वाणिज्य संघ स्रोतले ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने शंकर खड्का, ठेलीमा छाप लगाउने दुई केटीका विरुद्धमा जाहेरी दर्ताको प्रक्रियामा रहेको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरासहितको टोली उनीहरूका विरुद्धमा जाहेरी लगेर बुधवार जिल्ला प्रहरी कार्यालय, कैलाली पुगेको हो। तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जाहेरीमा तोक नलगाएपछि दर्ताको प्रक्रिया रोकिएको छ। बिहिवारसम्म उनीहरूका विरुद्धमा पक्राउ पुर्जी जारी हुने प्रहरी स्रोतले बताएको छ। यता, डिएसपी चन्दले भने सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुलाई टिकट विक्रीको जिम्मा दिएको थियो। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान भएको पाइएपछि यसअघि २ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। तर, बुधवार साँझसम्म उनीहरू पक्राउ परेका छैनन्। दुई जनाका विरुद्ध पक्राउ पुर्जी जारी भएका बेला थप चार जनाका विरुद्ध जाहेरी प्रहरीमा पुगेको हो।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रति टिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्काेबाट १३ र अर्काे बाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस