सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गर्भाअवस्थाको मृत्युदर भयावह, १२ महिनामा ३६ महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०८० माघ ७, १२:५३ खबर संवाददाता

धनगढीः २०७६ भदौमा बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भयो। मार्तडीस्थित जिल्ला अस्पतालमा बडीमालिका नगरपालिका–७ की २१ वर्षीया वसन्ती नेपालीको मृत्यु भयो।

समयमा अस्पताल पुगाउन नसकिएपछि उनले ज्यान गुमाउनु परेको थियो। त्यस्तै बाजुराकै बुढीगंगा नगरपालिका–२ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको पनि अकालमै मृत्यु भयो। यसैगरी बुढीगंगा नगरपालिका–६ की नितु जैशीको पनि रत्तस्रापका कारण मुत्यु भएको थियो। त्यस्तै कैलालीको गोदावरीकी २८ वर्षीया लक्ष्मी भट्टराईलाई गत चैत २६ गते बिहान मालाखेती अस्पताल पुगाइएको थियो।

बेथा लाग्ने औषधि दिइएपछि भोलिपल्ट बिहानैदेखि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने समस्या देखियो। बच्चा जन्मिए पनि बचाउन सकिएन, लक्ष्मीको पनि केहीबेरमै मृत्यु भयो। यी त केबल प्रतिनिधी उदाहरण मात्र हुन्।सुदूरपश्चिममा सुत्केरी र गर्भावस्थाको मृत्युदर यसैगरी भयावह बन्दै गएको छ। समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउने महिलाको संख्या बढ्न थालेको छ।

पछिल्लो १२ महिनामा मात्र उपचार नपाएर भएको मातृमृत्यु सुदूरपश्चिममा ३६ रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्युका रूपमा परिभाषित गरेको छ। घरमै, अस्पताल लैजाँदा बाटोमै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको पाइएको छ।

अहिले पनि जटिल समस्याको उपचारका लागि पालिकास्तरको स्वास्थ्य संस्थामा सम्भव नहुनु र जिल्ला अस्पताल रेफर गर्दा निकै ढिला भइसक्ने भएकाले सुत्केरीको मृत्यु हुने गरेको छ। बच्चा जन्मिसकेपछि उच्च रक्तस्रावका कारण मृत्यु हुने गरेको समेत देखिएको छ। गर्भावस्थामा ८ पटक र बच्चा जन्मिसकेपछि चारपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने मापदण्ड छ।

समयमै अस्पताल पुर्‍याउन दुर्गम भेगका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारको सुविधा दिए पनि प्रभावकारी हुन सकेको छैन। राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गतको यो सुविधा समयमै लिन नपाउँदा गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन्। उद्धारका लागि ढिला खबर आइपुग्ने, प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्र लिनुपर्ने, सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाको सिफारिस पत्रलगायत कागजात मिलाउनुपर्ने झन्झटका साथै भौगोलिक कठिनाइले हेलिकोप्टर समयमा पु¥याउन नसक्दा गर्भवती तथा सुत्केरीले अकालमा ज्यान गुमाउने गरेका छन्।

यो कार्यक्रम बाजुरा, अछाम र दार्चुलामा पूर्ण रूपमा लागू गरिएको छ। गत पौष १५ गते मात्र बझाङको केदारस्युँ गाउँपालिका–६ सिङराल्ली गाउँकी ३५ वर्षीया गौबडीदेवी धामीको सुत्केरी हुन नसकेर उपचारका क्रममा मृत्यु भएको थियो। गर्भवतीको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको भन्दै पालिकाकै देउरा बजारमा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल रेफर गरेको थियो। तर, जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

कमेन्ट लोड गर्नुस