सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीका नगर प्रमुख हमाललाई गठबन्धन राजीनामा दिन बाध्य बनाउँदै’

२०८० माघ ६, ०८:३३ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई गठबन्धनका दलहरु राजीनामा दिन बाध्य पार्न लागि परेको आरोप लागेको छ। नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा सहभागी नहुने रणनीति बनाएका काँग्रेस र माओवादीका वडा अध्यक्षहरूले असहयोग गर्दै अन्त्यमा राजीनामा दिन बाध्य पार्ने योजना बनाएका हुन्। काँग्रेस र माओवादीबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा आफूहरू अनुपस्थित रहने अनौपचारिक निर्णय गरेको बुझिएको छ।

‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ नगर सभाबाट पारित भएदेखि रुष्ट भएका नेपाली काँग्रेस र माओवादी पार्टीबाट विजयी जनप्रतिनिधिहरुले नगर प्रमुख हमाललाई असहयोग गर्दै आएका छन्। उनीहरुले नगर प्रमुख हमाल र उपप्रमुख कन्दकला कुमारी रानालाई असफल बनाउन मोर्चाबन्दी गरेको आरोप लागेको हो। गठबन्धन दलहरुको मोर्चाबन्दी रहेको स्वतन्त्रबाट विजयी नगर प्रमुख हमालले बताए। धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरुले नगर प्रमुख सहभागी कार्यक्रमहरुलाई बहिस्कार गर्न सुरु गरेका हुन्। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुस ११ गते आसरा सुधार केन्द्र, फूलबारीको उद्घाटन गरेका थिए। नगर प्रमुख हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, एमालेबाट विजयी वडाध्यक्षहरु उक्त कार्यक्रममा सहभागी भए। तर, गठबन्धनका दलहरुबाट विजयी वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु कार्यक्रममा सहभागी भएनन्। सोही कार्यक्रमबाट उनीहरुले नगर प्रमुख हमाललाई राजीनामा गर्न बाध्य पार्ने अनौपचारिक निर्णय गरेको नगर प्रमुख हमालको दाबी छ।

शनिवार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ कार्यक्रममा समेत उनीहरु सहभागी नभएपछि सो विषय बाहिरिएको हो। यश अघि माघी मिलन कार्यक्रममा वडा अध्यक्षहरूले नगर प्रमुखलाई निम्तो दिएनन् भने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि काँग्रेस र माओवादी वडा अध्यक्ष र सदस्यहरू सहभागी भएनन्। नगर प्रमुख हमालले गठबन्धनका वडा अध्यक्ष र सदस्यहरू आफ्नो विरुद्ध मोर्चाबन्दीमा लागेको बताएका छन्। उनले भने, ‘उहाँहरुसँग बहुमत छ। सुरुवातमा के गर्न सक्ला र ? एक्लो छ भन्ने थियो। पछिल्ला दिनहरुमा राम्रो काम भयो। उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ। सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउदै हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत साबको बिदाइको कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उद्घाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिस्कार गर्नु भएको हो।’

नगर प्रमुख हमालले गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिहरुले काम गर्ने वातावरण नदिएको बताएका छन्। उनले आज (शनिवार)सम्मको गरेर चार वटा कार्यक्रम गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिले बहिष्कार गरेको बताए। तर, काँग्रेस दलको नेतासमेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले आफूहरूले मोर्चाबन्दी नगरेको बताए। उनले समय नभएकाले उपमहानगरका औपचारिक कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए। उनले भने, ‘अहिले कार्यक्रम पनि छैनन्। राष्ट्रपति रनिङ्ग शिल्डमा काँग्रेसबाट विजयी साथीहरु नभएको मलाई जानकारी छैन। हामीले निर्णय पनि गरेका छैनौँ। उहाँहरुको समय नभएकाले नजानु भएको होला। म बाहिर भएर, नगएको हो।’

यता, एमालेबाट विजयी वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुको भने नगर प्रमुख हमाल सहभागी कार्यक्रममा सहभागिता हुने गरेको छ। एमालेबाट विजयी वडाध्यक्ष भुवन रिजालले काँग्रेसबाट विजयी वडाध्यक्षहरु र नगर प्रमुख हमाल बिचको मतभेद कम गर्न बिचको बाटोमा रहेको बताए। उनले एक अन्तर्वार्तामा भने, ‘जग्गाको विवाद सर्वोच्चमा पुगेपछि सकियो। अदालतको निर्णय आउला। बाहिरको बैठकले ऐन खारेज गर्न पनि मिल्दैन। नृप वड नगर प्रमुख हुँदा नै ऐन बनेको छ। तर, उहाँहरु (गठबन्धन दलहरुबाट विजयीहरु)ले कार्यक्रम बहिस्कार गर्नु भएको रहेछ। धनगढीको विकास मात्र गोपाल हमालले गर्नु भएको पनि होइन। उहाँको मात्र काम होइन। हाम्रो पनि लगानी छ। हामीले सहयोग गरेका हौँ। काँग्रेसबाट विजयी वडाध्यक्षहरुलाई पनि हामीले भनेको छौँ। यो गतल बाटोमा जाँदैछ।’

एमालेले कार्यपालिकाको बैठक बोलाउन माग समेत गरेको छ। धनगढीको विकासका लागि एमाले, काँग्रेस, माओवादीबाट विजयी जनप्रतिनिधिहरुको बिचमा फेरि बैठक हुन आवश्यक रहेको एमालेको दलको नेतासमेत रहेका रिजालले बताएका छन्। धनगढी उपमहानगरपालिकामा २९ सदस्य कार्यपालिका छ। प्रमुख गोपाल हमाल स्वतन्त्र हुन्। काँग्रेसबाट ११ वडाध्यक्षसहित १९ जना, एमालेका उपप्रमुख र ६ जना वडाध्यक्ष र माओवादीकेन्द्रबाट २ जना वडाध्यक्ष रहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेन कार्यपालिकाको नियम रहेको छ। धनगढीमा काँग्रेस र माओवादीको कार्यपालिकामा बहुमत रहेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस