सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एउटा पालिकाको नमुना कामः विद्यार्थीका नाममा अब बैंक खाता

२०८० पुष १३, ०३:५० खबर संवाददाता

अछामः अछाम जिल्लाको एउटा पालिकाले नमुना काम गरेको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकाले बृहत्तर विद्यालय सुधार अभियान सुरु गरेको छ।

विद्यालयमा रहेका राजनीतिक संगठन बन्द गरेर शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो। ५१ विद्यालयका ९ हजार बढी विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको कार्यक्रमअन्तर्गत विभिन्न १८ वटा योजना तय गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताए।

गाउँपालिका अध्यक्ष बिसीका अनुसार विद्यालयहरुमा राजनीतिक प्रभाव पर्न नदिने उद्देश्यसहित सीप, श्रम र उत्पादनमा जोड दिने लक्ष्य राखेर सुरु गरिएको यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीका नाममा निःशुल्क बैंक खाता खोल्ने कुरालाई उच्च प्राथमिकतामा राखिएको छ। खातामा दैनिक एक रुपैयाँ बचत गर्ने अभियान चलाइने उनले बताए।

साथै विपन्न अभिभावक पहिचान गरी पालिकाले सर्शत काममा लगाई त्यस्ता परिवारका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य लत्ता कपडा आदिको प्रबन्धसमेत गर्ने नीति लिइएको छ। शिक्षामा समुदायका सबै वर्गबिच समानता ल्याउन जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, कर्मचारी र बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आफ्ना छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउन सहमत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले बताए।

उनका अनुसार उनीहरु सबैले आउँदो शैक्षिक सत्रबाट आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्ने छन्। योसँगै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्नेछ। शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालालगायत विज्ञहरुको टोलीसहित गरिएको छलफल पछि गाउँपालिकाले १८ वटा बुँदासहित तुर्माखाँद साझा सहमतिपत्र तयार गरेको छ।

कमेन्ट लोड गर्नुस