गेटाबाट फर्किएर धनगढीको धर्मशालाबाट सुरु गरे डाक्टर केसीले सत्याग्रह
धनगढीः डाक्टर गोविन्द केसीले सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्।
धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन्। गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले प्रतिष्ठानको विषय मागमा नराख्न आग्रह गरेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्। सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्।
सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट डाक्टर केसी धनगढी आएका थिए। स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क÷सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डाक्टर. केसीले बताएका छन्। बारम्बार धोका दिई रहेको उनको भनाई छ।
देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरू आफैँ दलीय भागबन्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरू पार्टी कार्यकर्ताहरूका भर्ती केन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्य च्युत बनाएको उनले उल्लेख गरेका छन्।
राज्यका हरेक अंगमा दलीय करण भएको, नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरूलाई डुबाएर नेताहरु आफैँ व्यवसाय गर्नमा लिप्त भएको र नयाँ सरकारी संस्थाहरू खोल्न नदिइरहेको केसीको भनाई छ। धेरैको रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ भने केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था रहेको उनले भनेका छन्।
डा. केसीले मुख्य २ बुँदामा आफ्ना माग उल्लेख गरेका छन्। सशस्त्र द्वन्द्व कालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पु¥याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।
डाक्टर केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न स्थानीयले दिएनन्। स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डाक्टर केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनसन बस्न नदिएको हो। गेटामा प्रवेश नपाएपछि उनी धनगढी फर्केको दाबी छ।
अनशन बस्न गेटा पुगेका केसी फर्किए
डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले शुक्रबार साँझ तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनसन बस्न गएका केसी अनसन नबसेरै फर्किएका छन्।
अनसन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनसन नबसेरै फर्किको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए।
‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनसन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, उनले भने।
डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राखेका छन्। जबकी गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भन्ने आग्रहलाई डाक्टर केसीले नमानेको संघर्ष समितिले जनाएको छ।
सत्याग्रहका मागहरू
सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पु¥याउनु पर्ने उनको माग छ। यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्न कानुनी व्यवस्था गर्नुपर्ने माग केसीले अघि सारेका छन्।