एलपिएलः शुक्लाफाँटा ब्ल्याकबक्स र धनगढी क्रिकेट एकेडेमी विजयी
धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन्। शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लब तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गरेको हो।
मंगलबार सम्पन्न पहिलो खेलमा शुक्लाफाँटा फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गरेको छ। समूह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफाँटाले समूह ‘ए’ बाट सेमिफाइनल सम्भावना जीवितै राखेको छ। दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफाँटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमिफाइनल पुग्नेछ।
शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८ दशमलव ४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो। कैलालीका नरेन साउँदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २/२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो। शुक्लाफाँटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे। त्यस्तै विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए।
लोकेश जोशीले ३७ रन बनाए। कैलाली क्रिकेट क्लबको लागि विनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए। दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित ग¥यो। १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५ दशमलव ५ ओभरमा ८९ रन मात्र बनायो। धनगढी र शारदा दुवै टिम सेमिफाइनल रेसबाट बाहिर भइसकेका छन्।
लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए जुन क्रममा ३ दशमलव ५ ओभरमा १६ रन खर्चिए। विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो।
धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए। यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए। ११५ रनमा ७ विकेट गुमेको अवस्थामामा र युवराजले अविजित ५५ रनको साझेदारी गरे। प्रतियोगिता अन्तर्गत बुधवार पनि दुई खेल हुनेछन्।
पहिलो खेल बिहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स–११ सुपर स्टार्सबिच तथा दोस्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पस बिच हुनेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने तिन टिमको टुङ्गो लागिसकेको छ। समूह ‘बि’ बाट यूथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन्।