सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीमाथि ठेकेदारको दुर्व्यवहार

२०८० मंसिर १५, ०१:५२ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि मंसिर ११ गते कुटपिट भयो। लालझाडीकै निर्माण व्यवसायीसमेत रहेका भीम रानाको समूहले अवस्थीमाथि कुटपिट गरेको हो। कन्दकला कन्स्ट्रक्सनका सञ्चालक रानाले गाउँपालिकाका इन्जिनियर अवस्थीलाई सडक निरीक्षण गर्न बोलाएर निर्माणस्थलमै कुटपिट गरेका हुन्।

गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्काको साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि रानाको समूहले कुटपिट गरेको विषय सार्वजनिक भएको छ। पालिकाको बजेटमा करिब ६२ लाखको लागतका निर्माण भइरहेको कञ्जबजार सडक स्तरोन्नति योजनाको ठेक्का पाएका रानालाई सडकमा हालिएको बेसमा सुधार गर्नुपर्ने सुझाव दिइएपछि आफूलाई कुटपिट गरिएको इन्जिनियर अवस्थीले बताए।

‘सडकमा हालिएको बेसको केही ठाउँमा मापदण्ड मिलेको थिएन, त्यसमा सुधार गर्नुपर्ने सुझाव रानालाई अघिल्लो पटक दिएको थिए,’ उनले भने, ‘सोमवार बेसमा सुधार भइसक्यो हेरिदिनु पर्यो भनेर साइटमै बोलाएर मोटरसाइकलबाट झर्न नपाउँदै भीम रानाले कुटपिट गर्न थाले। सामूहिक रुपमा भएको कुटपिटमा बायाँ कानको जाली फुटेको छ।’

मापदण्ड विपरीत सडक निर्माणको काम गर्न खोज्ने निर्माण व्यवसायी रानालाई काममा सुधार गर्नुपर्ने बताइएपछि इन्जिनियर अवस्थीमाथि कुटपिट गरिएको छ। रानाले पहुँचको दम्भ देखाएर मापदण्ड विपरीत सडक कालोपत्र गर्न खोजेको भनाइ इन्जिनियर अवस्थीको छ। निर्माण व्यवसायीले भनेको खुरूखुरु नमानेर मापदण्ड अनुसार काम गर्नुपर्ने अडान लिएका कारण कुटपिटमा परेको अवस्थीले बताए।

इन्जिनियर अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायी राना विरुद्ध उजुरी परेपछि सो उजुरीलाई कमजोर बनाउने नियतले रानाले अख्तियारमा अवस्थी विरुद्ध उजुरी दर्ता गराएको दाबी छ। इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको भन्दै कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन राना अख्तियार गएका हुन्। उनले आफूले गरेको कुटपिट जायज देखाउन र थप दुःख दिन अख्तियारमा उजुरी दिएको अवस्थीको तर्क छ।

इन्जिनियर अवस्थीले आफूले कसैसँग घुस नमागेको, थप दुःख र बदनाम गर्ने नियतले आफ्ना विरुद्ध उजुरी हालिएको बताए। स्थानीय तहका कर्मचारीमाथि जनप्रतिनिधी, राजनीतिक दलका कार्यकर्ता र स्थानीय निर्माण व्यवसायीले मनोवैज्ञानिक त्रास देखाएर गैरकानुनी कामलाई सदर गर्न दबाब दिने गरेको गुनासो स्थानीय तहका कर्मचारीहरूको छ। गत वर्ष मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिकाका सव–इन्जिनियर दिनेश भट्टमाथि नगरपालिकाको कार्यालयमै दुर्व्यवहार भएको थियो।

भट्टका अनुसार कैलाश राठी कन्स्ट्रक्सनका सञ्चालकले भट्टको कार्यकक्षमै आएर दुर्व्यवहार गरेका थिए। पछि भने ठेकेदारले माफी माग्नु परेको थियो। कञचनपुरका यी दुई घटना उहाहरण मात्रै हुन्। सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको मनोवल घटाउन मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र हतोत्साही गर्ने काम भइरहेको स्थानीय तह कर्मचारी संघर्ष समितिका प्रदेश संयोजक दिनेश रावलले बताए। लालझाडीमा भएको घटनाप्रति स्थानीय तह कर्मचारी संघर्ष समितिको ध्यानाकर्षण भएको रावलले बताए।

‘स्थानीय तहमा कर्मचारीमाथि दुर्व्यवहार भई नै रहन्छ। अराजकताको सिकार हाम्रा साथीहरू भइरहेका छन्,’ उनले भने, ‘स्थानीय तहमा मनोवैज्ञानिक डर र त्रासले स्थानीय सरकारले गर्ने सेवा प्रवाह, कामकारबाही नै प्रभावित हुन्छ। जुन सबैका लागि दुःखको कुरा हो। हामीले सहज काम गर्ने वातावरण हुनुपर्छ।’ कर्मचारीमाथि हुने दुर्व्यवहार रोक्न पालिका प्रमुख रूपमा जिम्मेवार हुनुपर्ने स्थानीय तहका कर्मचारीले बताएका छन्।

पालिका प्रमुख र राजनीतिक दल निकटका मान्छेहरूबाट नै कर्मचारीले असुरक्षित महसुस गर्नुपरेको कर्मचारीहरुको गुनासो छ। कानुनअनुसार सरकारको काम जनताका लागि सहज रुपले गर्ने वातावरण निर्माण गर्न सबै पक्षले जिम्मेवार हुनुपर्ने भए पनि स्थानीय तहमा राजनीतिक नेतृत्व निकटका व्यक्तिबाट कर्मचारीले असुरक्षित हुनुपर्ने अवस्था रहेको स्थानीय तहका कर्मचारीले बताएका छन्।
के भन्छन पालिका अध्यक्ष?
इन्जिनियर अवस्थीमाथि कुटपिट भएको समयमा आफू पालिकामा नरहेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए। उनले कर्मचारी माथि दुर्व्यवहार गर्ने व्यक्तिको संरक्षण नगर्ने बताए। ‘घटना भएको दिन म यता थिएन्। के भएको हो भनेर सत्यतथ्य बुझेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘इन्जिनियरमाथि हातपात भएपछि उहाँले पनि प्रशासनमा मुद्दा हाल्नु भएको छ। प्रशासनले पनि छानविन गर्ला, हामी पनि पत्ता लगाउने छौँ। बदमासी गर्नेलाई हाम्रो तर्फबाट संरक्षण हुँदैन।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस