सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा घरजग्गाको कित्ताकाट बढ्यो, सबैभन्दा धेरै धनगढीमा

२०८० मंसिर ७, १२:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ। गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार झण्डै आधाले बढेको हो।

कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ह्वात्तै बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको थियो। गत असोजको तुलनामा मात्र नभएर चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा समेत असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको हो।

चाडपर्वका बेलामा घरजग्गा कारोबार सकरात्मक देखिए पनि मंसिरदेखि अझै बढ्ने अनुमान गरिएको छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको असोजमा एक हजार एक सय ७० पटक कित्ताकाट भएको थियो। कात्तिकमा ९ सय ६५ पटक जग्गाको कित्ताकाट भएको विभागको तथ्यांक छ। चालु आर्थिक वर्षको साउन ३० मा मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेसँगै जग्गाको कित्ताकाट बढेको हो।

गत वर्षको जेठ २३ मा पास भएको भू–उपयोग नियमावली–२०७९ मा पहिलो पटक संशोधन गर्दै गत वैशाख ५ को मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो। नियमावली संशोधन गरेर सरकारले वर्गीकरण नभएका पालिकाहरूको जुनसुकै जग्गाहरूको पनि कित्ताकाट गर्न मिल्ने बनाएको थियो। संशोधित नियमावलीअनुसार आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइनेछ।

यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैनथ्यो। सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरूको मापदण्ड पनि कायम गर्ने गरी नियमावलीमा राखिएको छ। सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ।

पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो। असोज महिनामा मालपोत कार्यालय बझाङमा ४६, बाजुरामा ४२, अछाममा ६०, डोटीमा ३०, बैतडीमा ३७, दार्चुलामा ३२, डडेल्धुरामा ३२, बेलौरी कञ्चनपुरमा एक सय २४, भूमि सुधार तथा मालपोत कार्यालय महेन्द्रनगरमा दुई सय ४६, मालपोत कार्यालय टीकापुरमा एक सय ३७ तथा सबैभन्दा बढी भूमि सुधार तथा मालापोत कार्यालय धनगढीमा तीन सय ८३ जग्गाको कित्ताकाट भएको छ।

त्यस्तै कात्तिक महिनामा पनि सबैभन्दा बढी धनगढीमा तीन सय ४९ जग्गाको कित्ताकाट भएको छ। महेन्द्रनगरमा दुई सय २, टीकापुरमा एक सय ५५, बेलौरीमा ६८, डडेल्धुरामा १८, दार्चुलामा ६१, बझाङमा ३४, बाजुरामा १२, अछाममा २९ र डोटीमा ३७ जग्गाको कित्ताकाट भएको छ। असोज र कात्तिक महिनामा गरी सुदूरपश्चिममा दुई हजार एक सय ३५ पटक जग्गाको कित्ताकाट भएको देखिएको छ। सबैभन्दा बढी असोजमा एक हजार एक सय ७० पटक जग्गाको कित्ताकाट भएको छ।

कमेन्ट लोड गर्नुस