युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शन आज
काठमाडौँः काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन्।
बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ। बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ।
यसअघि दुवैको कार्यक्रम माइतीघर मण्डलामा तय भएको थियो। झपडको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हो।