सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा रोकियो 

२०८० मंसिर ६, ०७:१५ नारायण अवस्थी

धनगढीः कैलालीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या २ लाख ८० हजारभन्दा बढी पुगेको छ। कैलालीमा हरेक वर्ष स्वास्थ्य बीमामा समावेश हुनेको सङ्ख्या बढेको देखिएको छ। 

जिल्लाका १३ पालिका मध्ये लम्कीचुहा नगरपालिकामा सबैभन्दा बढी र चुरे गाउँपालिकामा सबैभन्दा कम व्यक्तिले स्वास्थ्य बीमा गराएका छन्। सङ्घीय सरकारको गरिबी निवारण मन्त्रालयले कैलालीका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराउँदै आएकोमा यो वर्षबाट उनीहरूले आफै बीमाको प्रिमियम तिर्नुपर्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी दीपक बिष्टले बताए। ‘कैलालीका अति विपन्न व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा सरकारले नगर्ने भएको छ,’ उनले भने, ‘गरिबी निवारण मन्त्रालयबाट अति विपन्न नागरिक परिचयपत्रको पाँच वर्षे म्याद सकिएकाले बीमा नवीकरण नगर्नु भन्ने परिपत्र आएको छ। अब उहाँहरूले आफैँ प्रिमियम तिर्नुपर्छ।’ 

चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म कैलालीमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या २ लाख ८० हजार ९५७ पुगेको छ। २०७२ सालबाट कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो। स्वास्थ्य बीमा गराएका सेवाग्राहीले कैलालीका ८ वटा सरकारी स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन पाउने सूचना अधिकारी बिष्टले बताए। कैलालीका स्वास्थ्य बीमा गरेका नागरिकले धनगढीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा नगर अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पाउने व्यवस्था छ। स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पनि क्रमशःः बढेको देखिएको छ। 

२०७८ असार मसान्तसम्म १ लाख ९६ हजार १६६ जनाले स्वास्थ्य बीमा गराएकोमा २०७९ असार मसान्तसम्म यो संख्या बढेर २ लाख ४७ हजार ६५१ पुगेको छ। २०८० को कात्तिक मसान्तसम्म कैलाली जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या २ लाख ८० हजार ९५७ पुगेको हो। कैलालीमा कुन पालिकामा कति बिमित? कैलालीमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या लम्कीचुहामा सबैभन्दा बढी रहेको छ। लम्कीमा ४८ हजार ७१६ जनाले स्वास्थ्य बीमा गराएका छन्। 

यसैगरी, धनगढीमा ४६ हजार ९१७ जना, टीकापुरमा ३५ हजार ३४३ जना, भजनीमा २४ हजार २३ जना र गोदावरीमा २२ हजार ५४१ जनाले स्वास्थ्य बीमा गराएका छन्। यसैगरी, घोडाघोडीमा १९ हजार २६१, कैलारी गाउँपालिकामा १८ हजार १४५, जानकी गाउँपालिकामा १६ हजार २०५, जोशीपुर गाउँपालिकामा १४ हजार २२२, गौरीगङ्गामा ११ हजार ४९१, बर्दगोरियामा १० हजार ३१६ मोहन्यालमा ८ हजार ५२१ र सबैभन्दा कम चुरेमा ५ हजार २२६ जनाले स्वास्थ्य बीमा गराएका छन्। कुल बिमितको १० प्रतिशत सङ्ख्या अति विपन्न नागरिकको भए पनि यो वर्षबाट अति विपन्न नागरिकको स्वास्थ्य बीमा नवीकरण नहुने भएको छ।

सङ्घीय सरकारको गरिबी निवारण मन्त्रालयले २०७९ असार मसान्तमा अति विपन्न नागरिकलाई दिइएको परिचयपत्रको म्याद समाप्त भएको परिपत्र गरेकाले निःशुल्क बीमा स्वतःनवीकरण नहुने भएको सूचना अधिकारी बिष्टले बताए। सर्वसाधारणमा स्वास्थ्य बीमा प्रति सकारात्मक दृष्टिकोण रहेको बीमा अधिकारीले बताएका छन्। सरकारले अति विपन्न नागरिकलाई निःशुल्क बीमा नगराउने भएपछि यो वर्ष कैलालीका अति विपन्न नागरिक मर्कामा पर्ने भएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस