आज सुदूरपश्चिमका तीन नाकाबाट भित्रिए झण्डै दुई हजार नेपाली
धनगढीः सुदूरपश्चिमका मुख्य तीन नाका भएर करिब दुई हजार नेपाली स्वदेश फर्किएका छन्।
भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रदेशका तीन नाका भएर आज (सोमबार) मात्रै करिब दुई हजार नेपाली स्वदेश फर्किएका हुन्। सबैभन्दा बढी कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट श्रमिकदेखि विद्यार्थीसम्म सुदूरपश्चिम प्रवेश गरेका हुन्। कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु चाडपर्व सुरु भएसँगै धमाधम स्वदेश फर्कन थालेका छन्।
सोमबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट सबैभन्दा बढी एक हजार तीन सय नेपाली सुदूरपश्चिम प्रवेश गरेको तथ्यांक छ। त्यस्तै कैलालीको गौरीफन्टा नाका भएर थप पाँच सय ९७ र बैतडीको जुलाघाट नाका भएर १२ गरी कुल एक हजार ९ सय नौ नेपाली स्वदेश फर्किका हुन्। पछिल्लो समय प्रदेशका विभिन्न पाँच नाका भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ।